आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत, तर सहज छैन ‘रिकभरी’ (भिडियो रिपोर्ट)
अनलाइनसमय |
२५ माघ २०८१
काठमाडौं, २५ माघ । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा मुलुकको बाह्य क्षेत्रको सहजता कायमै छ भने आन्तरिक अर्थतन्त्रमा समेत सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकअनुसार सो अवधिमा विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह, चालू खाता एवं शोधनान्तर बचत लगायत बाह्य क्षेत्रका सबैजसो सूचक सकारात्मक छन्, जसमध्ये विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च छ । नेपालमा विदेशी मुद्रा सञ्चितिले साढे दुई वर्षयता मासिक रेकर्ड बनाउँदै आएको छ । यद्यपि आन्तरिक अर्थतन्त्रमा बाह्य क्षेत्रको अपेक्षित साथ भने देखिएको छैन ।
गत पुससम्ममा विदेशी विनिमय सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ, जुन गत असारको तुलनामा १३.५ प्रतिशतले बढेको हो । २०८१ असारमा यो २० खर्ब ४१ अर्ब १० करोड थियो । यता, आन्तरिक अर्थतन्त्रमा महत्वपूर्ण सूचक मानिने आयात तथा निजीक्षेत्रतर्फको कर्जा प्रवाहमा पनि सुधार देखिएको छ । ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब ६५ अर्ब ५६ करोड कर्जा प्रवाह भएको छ, जुन गत असारको तुलनामा ५.२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पुससम्ममा निजीक्षेत्रमा जाने कर्जा ४ प्रतिशतले बढेर १ खर्ब ९२ अर्ब ६४ करोड प्रवाह भएको थियो । चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । त्यसलाई सघाउन राष्ट्र बैंकले निजीक्षेत्रमा जाने कर्जा १२.५ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । यद्यपि यथावस्थामा कर्जा र आर्थिक वृद्धिदरको लक्ष्य प्राप्ति सहज देखिँदैन ।
कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रले गति लिने अपेक्षा गरिए पनि त्यसअनुसार आर्थिक गतिविधि बढ्न सकेका छैनन् । अर्थतन्त्रको सुधारका लागि भन्दै हालै सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन समेत ग¥यो । आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाइसकेको छ । यस्तै अध्यादेशमार्फत नीतिगत सुधारको प्रक्रिया समेत थालिएको छ । यसलाई संसद्बाट यथाशीघ्र पारित गरेर कार्यान्वयनमा ल्याउन निजीक्षेत्रको माग छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा निजीक्षेत्रतर्फ प्रवाहित कर्जामध्ये माग तथा चालू पूँजी शीर्षकमा ८९ अर्ब ५५, आयातमा ४६ अर्ब ८९ र मार्जिन प्रकृतिको कर्जा २३ अर्ब ६८ करोड प्रवाह भएको छ । यी तीन क्षेत्रमा प्रवाहित कर्जा गतवर्षको सोही अवधिको तुलनामा क्रमशः ५६.६, १२.३ र २६.३ प्रतिशतले बढेको छ ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्ट: