बढ्दै छ जीवन बीमाको पहुँच र दायरा (भिडियो रिपोर्ट)

अनलाइनसमय |
४ मंसिर २०८३
बढ्दै छ जीवन बीमाको पहुँच र दायरा (भिडियो रिपोर्ट)

काठमाडौं, ४ मंसिर । नेपाली बीमा बजारमा नागरिकले स्वैच्छिक बीमा गर्ने प्रवृत्तिमा अपेक्षित वृद्धि भइनसके तापनि समग्र बिमालेख बिक्री र बीमाशुल्क संकलनमा भने उत्साहजनक सुधार देखिएको छ । मानवीय क्षतिको जोखिम न्यूनीकरण र भविष्यको सुरक्षाप्रति सर्वसाधारण क्रमशः सजग हुँदै गएको नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकले देखाउँछ । बीमालेख विक्री बढ्नुलाई बीमा क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा लिइएको छ ।

प्राधिकरणका अनुसार चालू आवको पहिलो त्रैमाससम्ममा कुल २४ लाख १२ हजार ९२७ वटा जीवन बीमालेख जारी भएका छन् । यो संख्या गतवर्षको सोही अवधिको तुलनामा करीब २७ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीहरूले प्रथम बीमाशुल्क मात्रै करीब १४ अर्ब संकलन गरेका छन्, जुन गतवर्षको तुलनामा ३०.५७ प्रतिशतले र पाँच वर्षअघिको तुलनामा ९६ प्रतिशतले बढी हो ।

नेपालमा बीमाको पहुँच विस्तारमा लघुबीमाको पनि ठूलो योगदान रहेको छ । मुलुकमा जनसंख्याको ठूलो हिस्सा अझै पनि बीमाको दायराबाट बाहिरै छ । यो अवस्थामा बीमाको आवश्यकता र महत्व बुझाउन पाठ्यक्रममै बीमा शिक्षा र निश्चित आय भएका व्यक्तिलाई बीमा अनिवार्य गराउन सकिने सुझाइएको छ ।

समग्रमा बीमाका अधिकांश सूचक सकारात्मक भए तापनि बीमा दाबी भुक्तानीका गुनासा अझै पनि चुनौतीका रूपमा रहेका छन् । नियामक, बीमक र अभिकर्ता सबै तहबाट उत्तिकै पहल भए यस्ता समस्या समाधान हुनुका साथै बीमाप्रतिको जनविश्वास समेत बढ्न सक्छ । साथै, बीमाको पहुँच र दायरा विस्तारमा स्थानीय तहसँगको समन्वय पनि अपरिहार्य रहेकोमा जोड दिइएको छ ।

तथ्यांक विश्लेषण गर्दा कुल जारी बीमालेख संख्याको ७१ प्रतिशत हिस्सा लघु जीवन बीमाको छ भने आजीवन बीमालेखको हिस्सा सबैभन्दा कम ०.०५ प्रतिशत मात्र छ । यस्तै बीमाको भौगोलिक वितरण निकै असन्तुलित छ । जारी बीमालेखमध्ये बागमती प्रदेशमा मात्र ४५.६६ प्रतिशत हिस्सा रहँदा सुदूरपश्चिम प्रदेशको हिस्सा १.६० प्रतिशतमा सीमित छ ।

यस्तो छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस