आवासीय व्यक्तिगत घर कर्जा बढ्यो, कर्जा लिन उपयुक्त समय ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२७ कार्तिक २०८३
आवासीय व्यक्तिगत घर कर्जा बढ्यो, कर्जा लिन उपयुक्त समय ? (भिडियो रिपोर्ट)

काठमाडौं, २७ कात्तिक । नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट चालू आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौसम्म आवासीय व्यक्तिगत घर कर्जामा पौने ५ खर्बभन्दा बढी लगानी भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.७१ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्षको भदौसम्ममा बैंकहरूबाट यस्तो कर्जा ४ खर्ब ८१ अर्ब ६८ करोड प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूबाट ४ खर्ब २७ अर्ब ३६ करोड आवासीय व्यक्तिगत घर कर्जा लगानी भएको थियो ।

हरेकजसो नागरिकको एउटा महत्वपूर्ण आकांक्षा आफ्नै घरजग्गाको स्वामित्व हुनु पनि हो । घरजग्गालाई दीर्घकालीन रूपमा सम्पत्ति वृद्धि र सुरक्षित लगानी समेत मानिन्छ । सोहीकारण पनि यस क्षेत्रमा लगानीकर्ता आकर्षित हुने गरेका छन् ।

यता, लामो समयदेखि दबाबमा रहेको नेपाली घरजग्गा बजारले पनि लय समात्न थालेको संकेत देखिन्छ । गतवर्षको भदौको तुलनामा यस वर्षको सोही महिना घरजग्गा कारोबार करीब ३६ प्रतिशतले बढेको छ । यद्यपि बजार केही चलायमान बने पनि नीतिगत जटिलता भने अझै समाधान नभएको व्यवसायीको ठहर छ ।

आवास कर्जा विशेषगरी आवासीय प्रयोजनका लागि घर, जग्गा वा अपार्टमेन्ट खरिद गर्न वा निर्माण गर्न प्रदान गरिन्छ । हाल वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले समेत सुलभ आवास कर्जादेखि फिक्स्ड ब्याजदर र विशेष अफर योजनामार्फत ग्राहक आकर्षित गरिरहेका छन् । यो अवस्थामा उपयुक्त बैंक छनोट कसरी गर्ने त ?

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको आधारदर निरन्तर घट्दै जाँदा आवास कर्जा तुलनात्मक रूपमा निकै सस्तो भएको छ । यद्यपि यस्तो कर्जा लिने ग्राहकले ब्याजदर मात्र नहेरी आफ्नो आम्दानी तथा खर्च, किस्ता तिर्ने क्षमता जस्ता विविध विषयमा ध्यान दिनुपर्छ ।

चालु आर्थिक वर्षको भदौसम्ममा बैंकहरूले घरजग्गा अर्थात् रियलइस्टेटमा भने २ खर्ब ७० अर्ब ७२ करोड कर्जा लगानी गरेका छन् । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.२९ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले रियल इस्टेटमा २ खर्ब ७१ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका थिए ।

यस्तो छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस