विश्व लगानीकर्ता सप्ताह : भोलिका लागि आजै लगानी गर्नुहोस् (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२४ असोज २०८३
विश्व लगानीकर्ता सप्ताह : भोलिका लागि आजै लगानी गर्नुहोस् (भिडियो रिपोर्ट)

काठमाडौं, २४ असोज । पुँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना प्रवद्र्धनको उद्देश्यले यो साता विश्व लगानीकर्ता सप्ताह मनाइँदै छ । अन्तरराष्ट्रिय धितोपत्र बोर्ड संगठन (आयस्को)को आह्वानमा हुने गरेको विश्व लगानीकर्ता सप्ताहको यस वर्षको मुख्य नारा ‘इन्भेष्ट इन योर फ्युचर : प्रोटेक्ट इट टुडे’ अर्थात् आफ्नो भविष्यमा लगानी गर्नुहोस् : यसलाई आजै सुरक्षित गर्नुहोस्’ रहेको छ । यस अभियानमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर्सलगायत सरोकारवाला निकायहरूले सचेतना कार्यक्रमसँगै लगानीकर्ताका लागि विशेष मार्गदर्शन प्रस्तुत गरेका छन् ।

सन् २०१७ देखि मनाइँदै आएको यस अभियानमा हालसम्म १३७ मुलुक सहभागी छन् भने ८ हजार ५६० भन्दा बढी कार्यक्रममार्फत ९१ करोड ८० लाख मानिससम्म पहुँच पु¥याइएको छ । पुँजी बजारमा सर्वसाधारणको पहुँच र डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा लगानीकर्तालाई जोखिमहरूबारे बुझाउनु, अनधिकृत सूचना तथा अफवाहबाट बचाउनु र जोखिम वहन क्षमता अनुसार उचित निर्णय लिन सक्षम बनाउनु यस सप्ताहका मुख्य उद्देश्य रहेका छन् ।

कुनै पनि लगानीमा प्रतिफलसँगै जोखिम पनि उत्तिकै हुन्छ । पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न ग्रुपहरू, अनधिकृत ‘फिनफ्लुएन्सर’ र डिजिटल ठगीका कारण विशेषगरी साना र नवप्रवेशी लगानीकर्ता फस्ने जोखिम बढेको छ ।

यसैगरी मुद्रास्फीतिको प्रभाव र अप्रत्याशित नोक्सानीबाट बच्न लगानीकर्ताले ‘पोर्टफोलियो विविधीकरण’को सिद्धान्त अपनाउनुपर्छ । सबै पुँजी एउटै क्षेत्र वा कम्पनीमा नलगाई जोखिम बाँडफाँट गर्दा लगानी दिगो र सुरक्षित बन्न सक्छ ।

बजारका अल्पकालीन उतारचढाव र अफवाहका भरमा हतारमा लिइने आवेगपूर्ण निर्णयले लगानीकर्तालाई वित्तीय नोक्सानी पु¥याउन सक्छ । त्यसैले धैर्य, अनुशासन र सुसूचित विश्लेषणका आधारमा गरिने लगानीले दीर्घकालीन रूपमा पुँजीको सुरक्षा र प्रतिफल सुनिश्चित हुन सक्छ ।

वास्तवमा लगानी भनेको सेयर कारोबार मात्र नभई जोखिम र सम्भावनाको सही विश्लेषण गरी आफ्नो वित्तीय भविष्य सुरक्षित बनाउने प्रक्रिया हो । अतः बजारका हल्ला र प्रलोभनमा नपरी सत्यतथ्य सूचनाका आधारमा लगानी निर्णय लिनु बुद्धिमानी हुन्छ । साथै नियामक निकाय, ब्रोकरेज कम्पनी र लगानीकर्ता स्वयंको जिम्मेवार भूमिकाले नै पुँजी बजारलाई दिगो, पारदर्शी र सुरक्षित बनाउन मद्दत पुग्नेछ ।

यस्तो छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस