एसियाका उत्कृष्ट गन्तव्यको सूचीमा पोखरा ११औँ स्थानमा

अनलाइनसमय |
६ मंसिर २०८३
एसियाका उत्कृष्ट गन्तव्यको सूचीमा पोखरा ११औँ स्थानमा

काठमाडौं, ६ मंसिर । अन्तर्राष्ट्रिय यात्रा प्रकाशन संस्था लोन्ली प्लानेटले सन् २०२७ मा एसियामा घुम्नका लागि सिफारिस गरेका उत्कृष्ट २५ गन्तव्यको सूचीमा नेपालको पोखरा ११औँ स्थानमा परेको छ ।

लोन्ली प्लानेटको ‘२५ बेस्ट प्लेसेस टु भिजिट इन एसिया इन २०२७’ शीर्षकको सूचीमा नेपालको पोखरा ११औँ स्थानमा परेको हो ।

सूचीमा जापानको ओकिनावा पहिलो, चीनको चेङ्दु दोस्रो र भारतको गुजरात तेस्रो स्थानमा छन् । त्यसैगरी भियतनामको दानाङ चौथो र लाओसको लुआङ प्राबाङ पाँचौँ स्थानमा छन् । सूचीमा भारतको जयपुर १०औँ, नेपालको पोखरा ११औँ र श्रीलंकाको एल्ला १२औँ स्थानमा रहेका छन् ।

लोन्ली प्लानेटले पोखरालाई व्यस्त सहरी जीवनबाट टाढा रहेर आराम र पुनर्ताजगी लिन सकिने गन्तव्यका रूपमा चित्रण गरेको छ । फेवातालको किनारमा अवस्थित पोखराबाट देखिने हिमशृङ्खला, प्राकृतिक सौन्दर्य र शान्त वातावरणलाई यसको प्रमुख आकर्षणका रूपमा उल्लेख गरिएको छ ।

विशेषगरी अन्नपूर्ण पदयात्रा पूरा गरेर फर्किने पर्यटकका लागि पोखरा विश्राम र अनुभव साटासाट गर्ने उपयुक्त गन्तव्य रहेको प्रकाशनले उल्लेख गरेको छ ।

साथै, मन्दिर, बजार, शान्त क्याफे र परिवारद्वारा सञ्चालित होमस्टेहरूका साथ नेपालको वास्तविक मर्म र आत्मालाई नजिकबाट महसुस गर्न सकिने प्रकाशनमा उल्लेख गरिएको छ ।

यहाँ शान्ति र आरामका साथै साहसिक अनुभव चाहनेहरूका लागि यहाँ तालमा डुङ्गा खियाउने, ह्वाइटवाटर ¥याफ्टिङ गर्ने र सराङकोट डाँडाबाट प्याराग्लाइडिङ गर्ने सुविधा समेत छ ।

एसियाका घुम्न लायक २५ उत्कृष्ट ठाउँहरू :
१. ओकिनावा, जापान
२. चेङ्दु, चीन
३. गुजरात, भारत
४. दानाङ, भियतनाम
५. लुआङ प्राबाङ, लाओस
६. बैंकक, थाइल्याण्ड
७. अङ्कोर, कम्बोडिया
८. होई एन, भियतनाम
९. हुन्जा उपत्यका, पाकिस्तान
१०. जयपुर, भारत
११. पोखरा, नेपाल
१२. एला, श्रीलंका
१३. सिंगापुर
१४. केरला ब्याकवाटर्स, भारत
१५. माल्दिभ्स
१६. पेनाङ, मलेसिया
१७. पारो, भुटान
१८. सेतोउची, जापान
१९. सियोल, दक्षिण कोरिया
२०. सियार्गाओ, फिलिपिन्स
२१. बाली, इन्डोनेसिया
२२. समरकन्द, उज्बेकिस्तान
२३. युनान, चीन
२४. टोकियो, जापान
२५. हङकङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस