काठमाडौं, ३ मंसिर । कतारमा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ प्रतियोगिताबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी बाहिरिएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सोमपाल कामी नेपाल एनपीएल तेस्रो संस्करणको अन्तिम खेलका क्रममा घाइते भएकाले प्रतियोगितामा सहभागी हुन नसक्ने भएका हुन् ।
सोमपालको स्थानमा प्रतियोगिताका लागि प्रतिश जिसीलाई टोलीमा छनोट गरिएको छ । साथै, यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टोलीमा समावेश गरिएको क्यानले जनाएको छ ।
नोभेम्बर १९ देखि २९ सम्म कतारमा आयोजना हुने यस प्रतियोगितामा नेपाली टोलीले समूह चरणका खेल खेल्नेछ ।
नेपालले नोभेम्बर २० मा दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
