काठमाडौं, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो साढे १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन् । त्यस्तै, दोस्रो खेल साँझ ५ बजे हुनेछ । सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
अपराजित कर्णाली लगातार तेस्रो जितको खोजी हुनेछ भने काठमाडौं पहिलो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो । काठमाडौं भने आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
त्यस्तै, चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँड्नु परेको थियो । सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।