काठमाडौं, ३ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन तथा सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ ।
राखेपको कार्यकारी समितिको बिहीबार बसेको बैठकले एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका निलम्बन र प्रतिबन्ध हटाउने निर्णय गरेको हो । राखेपका सदस्य सचिव रामचरित्र मेहताले बिहीबार पत्र पठाउँदै एन्फामाथिको निलम्बन फुकुवा भएको जानकारी दिएका छन् ।
एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका प्रशासनिक र आर्थिक प्रतिबन्ध तथा सबै प्रकारका निलम्बन हटाइएको पत्रमा उल्लेख छ ।
एन्फाले गत अप्रिल ५ (चैत २३) मा पत्रमार्फत निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ ।
एन्फामाथि विश्व फुटबलको सर्वोच्च निकाय फीफाले पनि प्रतिबन्ध लगाएको छ । सरकारले हस्तक्षेप छैन भन्ने सन्देश दिएसँगै फीफासँगको छलफलको बाटो खुलेको छ ।