काठमाडौं, ३ मंसिर । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीविरुद्ध पक्राउ पुर्जी लिएको स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार अर्यालको समेत उक्त ठगी प्रकरणमा संलग्नता रहेको दाबी गर्दै पक्राउ पुर्जी जारी गरिएको हो ।
यस प्रकरणमा यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय तथा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी पक्राउ परेका थिए । उनीहरू बुधबार साँझ पक्राउ परेका हुन् ।
त्यस्तै, श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ परिसकेका छन् ।