मंसिर १४ देखि आईपीओ ल्याउँदै आशुतोष इनर्जी

अनलाइनसमय |
३ मंसिर २०८३
मंसिर १४ देखि आईपीओ ल्याउँदै आशुतोष इनर्जी

काठमाडौं, ३ मंसिर । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

स्थानीय बासिन्दाका लागि निष्काशन गरिने शेयरमध्ये ३ लाख कित्ता अति प्रभावित क्षेत्र लमजुङको दुधपोखरी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ र ३ का बासिन्दालाई वितरण गरिनेछ । बाँकी ३ लाख कित्ता शेयर अति प्रभावित क्षेत्रबाहेक दुधपोखरी, दोर्दी र अजिरकोट गाउँपालिकाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ६० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिनेछ । श्रम स्वीकृति प्राप्त गरी विदेशमा काम गरिरहेका नेपालीले उक्त शेयरमा आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि शेयर आवेदन दिने अवधि मंसिर २८ गतेसम्म रहनेछ । आवश्यक आवेदन नपरेमा निष्काशन अवधि पुस १४ गतेसम्म थप हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा मंसिर २८ गतेसम्म आवेदन दिने समय थप गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस