काठमाडौं, ३ मंसिर । युरोपेली संघ (ईयूएफएफ) फिल्म महोत्सव नेपाल नोभेम्बर २०२६ मा आफ्नो १५औँ संस्करणका साथ पुनः आयोजना हुने भएको छ । यस महोत्सवमा काठमाडौं र जनकपुरका दर्शकले विभिन्न युरोपेली तथा नेपाली चलचित्र हेर्न पाउनेछन् ।
नेपालस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको आयोजनामा हुने यो वार्षिक सांस्कृतिक महोत्सवले ईयू र नेपालबीचको जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउने तथा विभिन्न संस्कृतिबिच आपसी विश्वास र समझदारी अभिवृद्धि गर्न चलचित्रको भूमिकालाई जोड दिनेछ ।
ईयूएफएफ नेपाल २०२६ काठमाडौंमा २० नोभेम्बरका दिन क्युएफएक्स छाया सेन्टरमा विशेष आमन्त्रित कार्यक्रमसहित सुरु हुनेछ । यो महोत्सव काठमाडौंमा २१ र २२ नोभेम्बरसम्म हुनेछ ।
त्यसैगरी, नोभेम्बर २७ मा जनकपुरमा उद्घाटन समारोह आयोजना गरिनेछ भने नोभेम्बर २९ सम्म जनकपुरधामस्थित गिरिजा चलचित्र मन्दिरमा महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवअघि नेपालका लागि ईयू राजदूत चाल्र्स ह्वाइट्लीले भनेका छन, ‘नेपालमा १५औँ युरोपेली सङ्घ फिल्म फेस्टिवलसँगै हामी युरोपेली र नेपाली चलचित्र निर्माताहरूको सिर्जनशीलताको उत्सव मनाउन, उदीयमान प्रतिभालाई सहयोग गर्न तथा संवाद र सांस्कृतिक आदानप्रदानका अवसरहरू सिर्जना गर्न पाउँदा हर्षित छौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माताहरूका सिर्जना अनुभव गर्न काठमाडौँ र जनकपुरका दर्शकहरूलाई स्वागत गर्न हामी प्रतीक्षारत छौँ ।’
यस महोत्सवमा ११ देशका २९ वटा चलचित्रहरू प्रदर्शन गरिने छन् । १२ वटा युरोपेली फिचर चलचित्र, ६ वटा ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आट्र्स (बाफ्टा) सर्ट फिल्म, ९ वटा नेपाली विद्यार्थी चलचित्र, इन्सेसन्ट रेनको एउटा नेपाली एनिमेटेड सर्ट फिल्म र नेपाली फिचर चलचित्र एलिफेन्ट्स इन द फग प्रदर्शन गरिने छन् ।