काठमाडौं, ८ असोज । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बिच खोलामै फसेको छ ।
बुधबार बिहान करिब ९ः५० बजे बस खोला तर्ने क्रममा पानीको बहावका कारण खोला पार गर्न नसकी बिचमै रोकिएको जानकारी प्राप्त भएपछि विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनानी) सुमन बुढाथोकीको कमान्डमा १० जना विपद् व्यवस्थापन (डीएम) जनशक्तिसहितको टोली घटनास्थलमा खटिएको थियो।
सुरक्षाकर्मीको टोलीले बसमा रहेका यात्रुलाई सुरक्षित स्थानमा राखेको जनाइएको छ। घटनामा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।