काठमाडौं, २६ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र निजी क्षेत्रका प्रतिनिधिहरूबीच आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, पूर्वाधार विकास, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा दुई घण्टा लामो छलफल छ ।
उनका अनुसार छलफलमा प्रधानमन्त्री शाहले मुलुकमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक परे नयाँ कानुन ल्याएर भए पनि निजी क्षेत्रलाई सहयोग गर्ने आश्वासन दिएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
निजी क्षेत्रका प्रतिनिधिहरूसँगको संवादमा प्रधानमन्त्रीले व्यवसायीका समस्या, सुझाव र नीतिगत सुधारका विषयमा निरन्तर समन्वय गर्न सरकार र निजी क्षेत्रबीच नियमित बैठक बस्ने गरी एउटा स्थायी संयन्त्र गठन गर्न आफू सकारात्मक रहेको बताए ।
उक्त छलफलमा प्रधानमन्त्री शाहले लगानीकर्ता र व्यवसायीको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको सन्देश दिए । वर्तमान अवस्थामा शिथिल बनेको व्यावसायिक वातावरणलाई चलायमान बनाउन र लगानीको विश्वास जगाउन सरकार र निजी क्षेत्रबीचको यो प्रत्यक्ष अन्तरक्रियालाई सुखद संकेतका रूपमा हेरिएको ढकालले बताए ।