[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

भारतमा अर्नब चक्रवातको प्रभाव, विद्युत् र रेल सेवा अवरुद्ध

अनलाइनसमय |
१२ कार्तिक २०८३
भारतमा अर्नब चक्रवातको प्रभाव, विद्युत् र रेल सेवा अवरुद्ध

काठमाडौं, ११ कात्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबले ठूलो क्षति पुर्‍याएको छ । शक्तिशाली आँधीका कारण विभिन्न स्थानमा रूखहरू ढलेका छन् भने हजारौँ विद्युत् पोलमा क्षति पुगेको छ । चक्रवातको प्रभाव आगामी दुई दिनसम्म रहन सक्ने भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बीबीसी तेलुगुका अनुसार बुधबार बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवात प्रवेश गर्नुअघि भारी वर्षा हुने पूर्वानुमान गरिएको थियो । भारतीय मौसम विभागका अनुसार बापटला र विशाखापट्टनमको बीचमा पर्ने यानमको दक्षिणी क्षेत्रमा चक्रवात तटमा ठोक्किएको थियो । त्यसबेला आँधीको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो ।

चक्रवातका कारण तटीय क्षेत्रका विभिन्न स्थानमा रूखहरू उखेलिएका छन् भने कतिपय ठाउँमा विद्युत् पोल ढलेका छन् । थप जोखिम हुन नदिन प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको अधिकारीहरूले जनाएका छन् ।

कोनासीमा जिल्लाका मजिस्ट्रेटका अनुसार जिल्लाभर करिब ६ हजार विद्युत् पोल ढलेका छन् । यसबाट ठूलो संख्यामा स्थानीय बासिन्दा विद्युत् सेवाबाट प्रभावित भएका छन् ।

आन्ध्र प्रदेशका ऊर्जामन्त्री गोट्टीपति रवि कुमारले बीबीसी तेलुगुसँग कुरा गर्दै चक्रवातको प्रभाव कम भएको २४ घण्टाभित्र सबै क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्ने प्रयास गरिने बताएका छन् ।

यसैबीच, चक्रवातका कारण यातायात सेवासमेत प्रभावित भएको छ । आन्ध्र प्रदेश र ओडिशा हुँदै सञ्चालन हुने विभिन्न रेलहरू रद्द गरिएका छन् । प्रतिकूल मौसम र सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले उद्धार तथा व्यवस्थापनका कामलाई प्राथमिकता दिएको छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस