काठमाडौं, १० कात्तिक । साउदी अरेबियामा पछिल्लो समय सुरक्षा चुनौती र खतरा बढेपछि रियादस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।
दूतावासले सूचना जारी गर्दै सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन, साउदीका आधिकारिक निकायले जारी गरेका सूचनालाई नियमित रूपमा हेर्न र सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको हो ।
त्यस्तै, आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार, फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न निर्देशन दिइएको छ ।
साउदीबाट नेपाल वा अन्य मुलुकतर्फ यात्रा गर्नुअघि एयरलाइन्स वा आधिकारिक स्रोतबाट उडानको अवस्था यकिन गरेर मात्रै निस्कन भनिएको छ । साथै कुनै पनि समस्या वा सहयोगका लागि रियादस्थित नेपाली राजदूतावास र जेद्दास्थित महावाणिज्यदूतावासका नम्बरहरूमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।
यमनका हुथी विद्रोही समूह र साउदीबीचको द्वन्द्व चर्किएका बेला साउदीका विमानस्थल, तेल पूर्वाधार तथा अन्य महत्त्वपूर्ण स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमणका घटना भएका छन् । मंगलबार साउदी नेतृत्वको गठबन्धनले पूर्वी र दक्षिणी क्षेत्रमा लक्षित तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र र चारवटा ड्रोन रोकेको जनाएको छ ।
यसअघि गत अक्टोबर २१ मा साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा लक्षित ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेपछि त्यसको भग्नावशेष ठेकेदारको गाडीमा खसेको थियो । घटनामा एक नेपाली र एक फिलिपिनो श्रमिकको मृत्यु भएको थियो भने पाकिस्तानी र भारतीय श्रमिक घाइते भएका थिए ।