काठमाडौं, १० कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले चाडपर्व सकिने बित्तिकै देशमा आन्दोलन र सरकार परिवर्तनको चर्चा चल्नुलाई विडम्बनापूर्ण र चिन्ताजनक बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने बताएका हुन् ।
लोकतान्त्रिक प्रणालीमा सत्ताधारी र प्रतिपक्षी दलहरूबीच प्रतिस्पर्धा, सहकार्य तथा सदन र सडकमा हुने आलोचना–प्रत्यालोचनालाई स्वाभाविक र आवश्यक प्रक्रिया माने पनि निर्वाचन सम्पन्न भएको केही समयमै सरकार फेर्ने वा ढाल्ने खेलमा लाग्नु देशलाई अनिश्चितताको भूमरीमा फसाउनु सरह भएको उनले टिप्पणी गरे ।
भट्टराईले विगतका राजनीतिक अस्थिरताका दुष्परिणाम देखिसकेको अवस्थामा यस्ता प्रवृत्तिले अर्थतन्त्रलाई थप खस्काउने, युवा वर्गलाई विदेशिन बाध्य पार्ने र देशलाई भूराजनीतिक जोखिममा पार्ने चेतावनी दिएका छन् । उनले यस किसिमको राजनीतिक चलखेललाई ‘अल्पदृष्टि र पटमूर्खता’को संज्ञा दिएका छन् ।
देश र जनताप्रति जिम्मेवार बन्न सबै नागरिकलाई आग्रह गर्दै डा. भट्टराईले सत्तामा रहेकाहरूलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् । विशेष गरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा पारिएका र निमुखा जनताका आवाज सत्तासम्म पु¥याउनुपर्ने उनको भनाइ छ ।
जनताका समस्या र आवाज नसुन्ने सत्तासीनहरूलाई विधिसम्मत ढङ्गले दण्डित गर्ने वा पदबाट हटाउने अधिकार जनतामा रहेको उल्लेख गर्दै भट्टराईले भनेका छन्, “निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ! काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौँ!“