काठमाडौं, ३० असोज । यस साताको कारोबार अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ दशमलव २३ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६३४ दशमलव ६० को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार परिसूचक ४ दशमलव ५६ अङ्कले बढेर २,६२५ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ४ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ३९ हजार २९५ पटक किनबेच भएको छ ।
शुक्रबार ३४८ धितोपत्र कारोबारमा आए, जसमध्ये १७४ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९१ धितोपत्रको मूल्य घटेको छ भने १२ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढ्दा ५ समूहको उपसूचक बढेको छ ।
शुक्रबार चिख्र्वा हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १४.८२ प्रतिशतले बढेको छ । त्यस्तै, बेनी हाइड्रोपावरको १२.४६, सुभम् पावरको ८.५८, एभरेष्ट कलरको ७.४७ र स्वाभीमान लघुवित्तको ५.७३ प्रतिशतले शेयर मुल्य बढेको छ ।
आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा धेरै ४.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।