कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, शपथग्रहण कहिले ?

अनलाइनसमय |
३० असोज २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, शपथग्रहण कहिले ?

काठमडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ । मधेस र बागमती प्रदेशका अन्तिम परिणाम आएसँगै सबै पदको मतगणना सकिएको हो ।

गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना करिब एक सातामा पूरा भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् । उनका अनुसार विभिन्न पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको छ। रुजु प्रक्रिया पूरा भएपछि नतिजा सार्वजनिक गरिनेछ ।

कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको थियो । सहमहामन्त्रीसहित खुला तथा महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारु समूहको मतगणना पनि राति अबेर सम्पन्न भएको उनले बताए । अन्य पदको मतगणना भने यसअघि नै पूरा भइसकेको थियो ।

असोज २३ गते मतदान सम्पन्न भएपछि सोही राति सभापति पदको मतगणना सुरु गरिएको थियो। सभापतिको अन्तिम परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो । त्यसपछि अन्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा असोज २४ गते रातिदेखि गरिएको थियो ।

यसपटकको महाधिवेशनमा सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको निर्वाचन समितिले जनाएको छ । सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । त्यसको तुलनामा यसपटक बढी मतदाता भए पनि गणना कार्य छिटो सम्पन्न भएको उनको भनाइ छ ।

मतगणना व्यवस्थित बनाउन सुरुदेखि नै दिनरात गरी करिब २५ वटा समूह परिचालन गरिएको थियो । यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको कटुवालले जानकारी दिए । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्ने व्यवस्था गरिएको थियो ।

निर्वाचन समितिका सदस्य सचिव कटुवालले मतदान र मतगणनाका क्रममा कुनै विवाद उत्पन्न नभएको तथा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् । उनका अनुसार अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी गतिमा सम्पन्न भएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस