४०.६५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, २०.९ महिनाको वस्तु आयात धान्न पर्याप्त

अनलाइनसमय |
२९ असोज २०८३
४०.६५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, २०.९ महिनाको वस्तु आयात धान्न पर्याप्त

काठमाडौं, २९ असोज । विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्बजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्मको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति बढेको हो । २०८३ असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.० प्रतिशतले वृद्धि भई ३६ खर्ब १० अर्ब ७६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ७.२ प्रतिशतले वद्धि भई ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ कायम भएको छ ।

२०८३ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत रहेको छ ।

२०.९ वर्षको आयात धान्न पुग्ने
आर्थिक वर्ष २०८३÷८४ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । २०८३ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.६ प्रतिशत, १४८.५ प्रतिशत र ४४.९ प्रतिशत रहेका छन् । २०८३ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस