काठमाडौं, २१ भदौ । यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको पछिल्लो तथ्याङ्कअनुसार सेप्टेम्बर ३, २०२६ सम्ममा २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन्, जसमध्ये २६३ जना पुरुष र ८५ जना महिला आरोही रहेका छन् ।
यस याममा मनास्लु आरोहण अनुमतिबाट मात्रै सरकारले १५ करोड ८७ लाख ५६ हजार २५० रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।
यस याममा मनास्लुसहित विभिन्न ३ वटा हिमाल आरोहणका लागि कुल ३२ वटा टोलीका ३६७ जना आरोहीले अनुमति पाएका छन् । मनास्लु पछि यो याममा मकालु (८,४६३ मिटर) आरोहणका लागि १ टोलीका ३ जना र डाङ्गा (६,२२० मिटर) हिमाल आरोहणका लागि २ टोलीका १६ जनाले अनुमति लिएका छन् ।
यी तीन वटै हिमाल आरोहण अनुमतिबाट १५ करोड ९६ लाख २० हजार रुपैयाँ कुल रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
गोरखाको चुमनुब्री एक, सामागाउँमा रहेको ८ हजार १६३ मिटर उचाइको मनास्लुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ । यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ ।
मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दूरीमा छ । बेसक्याम्प गाउँ नजिकै रहनुले आरोहीको रोजाइमा पर्ने गर्छ । आरोहीले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गर्छन् । सन् १९५६ मे ९ मा जापानी आरोही तासी इमानुसी र नेपाली शेर्पा ग्याल्जेन नोर्बु शेर्पाले पहिलोपटक मनास्लुको सफल आरोहण गरेका थिए ।
वसन्त ऋतुमा सगरमाथा आरोहण लोकप्रिय भएजस्तै शरद ऋतुमा मनास्लु आरोहणका लागि विश्वभरका आरोहीहरूको पहिलो रोजाइ बन्ने गर्छ । मनास्लु क्षेत्र पदयात्राका लागि पनि निकै प्रसिद्ध छ । यहाँको मनास्लु सर्किटका क्रममा ५,१६३ मिटर उचाइमा रहेको ‘लार्के ला भञ्ज्याङ’ पार गर्नुपर्छ, जुन साहसिक पदयात्राका लागि निकै आकर्षक मानिन्छ ।