बाढी प्रभावितका लागि सौजन्य मिडियाका कर्मचारीहरूको सहयोग

अनलाइनसमय |
१६ भदौ २०८३
बाढी प्रभावितका लागि सौजन्य मिडियाका कर्मचारीहरूको सहयोग

काठमाडौं, १५ भदौ । भोटेकोशी नदीमा गत बुधवार आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सौजन्य मिडिया प्रालिका पूर्णकालीन कर्मचारीहरूले मासिक पारिश्रमिकबाट नगद सहयोग गरेका छन् । संस्थाका कर्मचारीहरूको स्वनिर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी मासिक तलबको एक दिनबराबरको सहयोग रकम जम्मा गरिएको हो ।

अकल्पनीय बाढीबाट उत्पन्न कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिन र राहत कार्यलाई प्रभावकारी बनाउन यो योगदान महत्त्वपूर्ण हुने संस्थाका निर्देशक रमेश केसीले अपेक्षा गरे ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नदीको तीव्र बहावले सयौं नागरिकको अकालमै ज्यान गएको, कैयौं बेपत्ता भएको तथा सयौं परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको छ।

बाढीका कारण ज्यान गुमाएकाहरूप्रति सौजन्य मिडिया परिवारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना जनाएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र जनजीवन सामान्य बनाउन भइरहेका सरकारी तथा सरोकारवाला निकायहरुको प्रयासको सफलता कामना पनि गरिएको छ ।

सौजन्य मिडिया प्रालिले मुलुकै पहिलो साप्ताहिक शैक्षिक तथा कूटनीतिक कार्यक्रम ‘इन्फोप्लस’, वित्तीय साक्षरतामूलक साप्ताहिक कार्यक्रम ‘वित्तीय शिक्षा’ र अर्थराजनीतिक संवाद कार्यक्रम ‘इकोनोमिक वेभ्स’को निर्माण गरी हिमालय टेलिभिजनमार्फत प्रसारण गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस