काठमाडौं, ११ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि जानकारी दिँदै उनले सुवा बाढीबाट प्रभावितको तत्कालको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताएका छन् ।
‘घटनालगत्तै विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको छ । यसका अतिरिक्त चीन, भारत, जापान, एसियाली विकास बैंक (एडीबी) र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ,’ उनले भने ।
राष्ट्रिय संकटको घडीमा सम्पूर्ण राजनीतिक दलहरू एकै ठाउँमा उभिनु नेपाली राजनीतिको सकारात्मक पक्ष भएको भन्दै उनले यस संकटलाई सम्पूर्ण समाजको अवधारणाअनुरूप सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबै एकीकृत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री वाग्लेका अनुसार, चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ सुरक्षित रहेकाले तत्काल राहत र उद्धारमा कुनै कमी नहुने अर्थमन्त्रीले स्पष्ट पारेका छन् ।
अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको सफल पुनर्निर्माणको अनुभवलाई मध्यनजर गर्दै अहिले पनि वैज्ञानिक तथ्य र अध्ययनका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने बताए ।