काठमाडौं, १६ भदौ । पाकिस्तानका पूर्व सिनेट अध्यक्ष सैयद नय्यर बुखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलाङ्गीले इस्लामाबादस्थित नेपाली दूतावासको भ्रमण गरी नेपाल– चीन सीमावर्ती क्षेत्रमा हिमताल विस्फोट तथा पहिरोपछि आएको भीषण बाढी र त्यसले पुर्याएको ठूलो क्षतिप्रति समवेदना व्यक्त गरेका छन् ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको निर्देशनमा बुखारी र दूतावासको पुगेर पाकिस्तानका राष्ट्रपति र पाकिस्तानी जनताको तर्फबाट समवेदना व्यक्त गर्नुका साथै ऐक्यबद्धता जनाएका छन् ।

भ्रमणका क्रममा दुवै प्रतिनिधिहरूले नेपालमा गएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पाकिस्तान सरकार र त्यहाँका जनताका तर्फबाट समवेदना सन्देश हस्तान्तरण गरे । उनीहरूले दूतावासको शोक पुस्तिकामै आफ्ना समवेदना तथा ऐक्यबद्धताका सन्देशहरू पनि लेखेका छन् ।
पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालले प्रतिनिधिमण्डललाई स्वागत गर्दै यस कठिन परिस्थितिमा पाकिस्तानले देखाएको सहानुभूति, ऐक्यबद्धता र सहयोगको प्रयासप्रति हार्दिक आभार व्यक्त गरे ।