सेबोनमा नयाँ नेतृत्वसँगै आउँदै लगानीका नयाँ उपकरण (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२२ साउन २०८३
सेबोनमा नयाँ नेतृत्वसँगै आउँदै लगानीका नयाँ उपकरण (भिडियो रिपोर्ट)

काठमाडौं, २२ साउन । नेपालको धितोपत्र बजारमा नयाँ वित्तीय सेवा सञ्चालनमा ल्याउनुपर्ने बहस पुरानै हो । यो अवस्थामा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएसँगै लगानीका विभिन्न उपकरण ल्याउने नीतिगत तयारी शुरू गरिएको छ । विशेषगरी मार्जिन कारोबार, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ र शर्ट सेलिङ चरणबद्ध कार्यान्वयनको तयारीमा रहेको बोर्डले यससम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले यसका लागि गर्नुपर्ने नीतिगत, कानूनी, संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणापत्र, २०८३ मा सार्वजनिक गरेको हो ।

नेपाल सरकारको चालू आर्थिक वर्षको बजेटमा इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरुवात गरिने उल्लेख छ । त्यस्तै धितापत्र बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा मार्जिन लेण्डिङ, सेक्युरिटी लेन्डिङ एण्ड बरोइङ र सर्ट सेलिङ सञ्चालनमा ल्याउन कानूनी, संस्थागत तथा प्रक्रियागत संरचनाको व्यवस्था गर्ने घोषणा गरिएको छ । बोर्डको यो घोषणा सकारात्मक रहेको लगानीकर्ताको प्रतिक्रिया रहेको छ ।

यता, प्राथमिक सेयरमा लागू गरिएको १० कित्ते नीति पुनरवलोकन गर्नुपर्ने विषयले पछिल्लो समय चर्चा पाएको छ । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा उक्त सुझाव आएपछि यसको पक्ष र विपक्षमा बहस शुरू भएको हो ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीको कार्यकालमा सर्वसाधारणलाई सेयर बजारमा जोड्ने उद्देश्यले ‘१० कित्ते’ नीति ल्याइएको थियो । यस अनुसार आइपिओमा आवेदन दिने सबै व्यक्तिगत लगानीकर्तालाई पुगेसम्म कम्तीमा १० कित्ता सेयर अनिवार्य रूपमा बाँड्ने व्यवस्था लागू गरिएको छ । आईपीओमा १० कित्ताको व्यवस्थाले ठूलो जनसंख्यामा लगानीको पहुँच पु¥याएकाले यसलाई हटाउन नहुने लगानीकर्ताको तर्क छ ।

यसैगरी नेपालको धितोपत्र बजारमा साना र नवप्रवेशी लगानीकर्ता प्रायः सामाजिक सञ्जालमा आउने सूचना, सुझाव र विश्लेषणबाट प्रभावित हुने गरेका छन् । यस्तोमा बोर्डले नियामक निकायमा दर्ता वा लाइसेन्स लिएर मात्र यस्तो काम गर्न पाइने नियम ल्याउने तयारी गरेको छ ।

बोर्डका अनुसार अब दर्ता भएका योग्य व्यक्ति वा संस्थाले मात्र बजारसम्बन्धी सल्लाह वा विश्लेषणको काम गर्न पाउनेछन् । बजारमा गलत सूचना र अवाञ्छित गतिविधि रोक्न यो व्यवस्था सहयोगी हुने अपेक्षा गरिएको छ ।

हाल नेपालको धितोपत्र ८० लाख २३ हजारभन्दा बढी डिम्याट खाता खोलिएका छन् । यस्तै शेयर कारोबारका लागि आवश्यक मेरो शेयर प्रयोगकर्ता ७१ लाखभन्दा बढी छन् । बजारमा सूचीकृत कम्पनी २८६ ओटा रहेका छन् भने १९ अर्ब ५३ करोड १० लाख कित्ता शेयर सूचीकृत छन् ।

बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस