काठमाडौं, ५ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा हुने निरन्तरको पहिरो तथा सडक अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले प्राविधिक अध्ययन अघि बढाएको छ । सडक विभागले कृष्णभिर क्षेत्रमा सुरुङ (टनेल) खन्ने वा अगाडितिर भायोडक्ट (पिल्लरमाथि पुलजस्तो संरचना बनाएर सडक लैजाने प्रविधि) निर्माण गर्ने गरी दुई प्रमुख विकल्पमा अध्ययन सुरु गरेको हो ।
सोमबार पूर्वाधार विकास समितिको बैठकमा जानकारी गराउँदै सडक विभागका महानिर्देशक डा. विजय जैशीले करिब दुई महिनाभित्र प्राविधिक अध्ययन प्रतिवेदन तयार हुने र त्यसलगत्तै निर्माण प्रक्रियाका लागि ठेक्का आह्वान गरिने बताए ।
कृष्णभिरमा बारम्बार पहिरो जाने गरेकाले पृथ्वी राजमार्गको यातायात लगातार प्रभावित हुँदै आएको छ । गत भदौ १० गते भोटेकोशी–रसुवा बाढीका कारण सडकको साविक भाग क्षतिग्रस्त भएको थियो भने भदौ १४ गते कृष्णभिर खण्डको सडक नै भत्किएको थियो । हाल भत्किएको सडकमाथिबाट अस्थायी ट्र्याक खोलेर सवारी आवतजावत गराइएको छ ।
तत्कालीन समाधानका साथै राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले वैकल्पिक सडक निर्माणको कामसमेत अघि बढाएको छ ।
फिस्लिङ र बेनिघाटतर्फ नदी पारिपारिबाट सडक लैजाने गरी वैकल्पिक मार्गको काम भइरहेको र त्यसका लागि फिस्लिङतर्फ करिब १.५ किलोमिटर कडा भिर काट्ने काम सुरु भइसकेको महानिर्देशक जैशीले जानकारी दिए ।