काठमाडौं, १ असोज । चालू आर्थिक वर्ष (आव)को पहिलो दुई महिनामा सरकारको विकास खर्च झण्डै २ प्रतिशत भएको छ । गत वर्षको तुलनामा खर्चको अवस्था सामान्य सुधार भएको देखिन्छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म विकास लक्षित पुँजीगत खर्च ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ भएको छ । यो वार्षिक बजेट विनियोजनको १ दशमलव ७८ प्रतिशत हो, जुन गत आवको यसै अवधिको तुलनामा शून्य दशमलव २२ प्रतिशत बिन्दुले बढि हो । सो वर्षको भदौ मसान्तसम्ममा यस्तो खर्च १ दशमलव ५६ प्रतिशत अर्थात ६ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ भएको थियो ।
चालू आवका लागि सरकारले विकास खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने गत आवका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन गरेको थियो ।
आवको पहिलो २ महिनामा सरकारले चालू खर्च पनि गत आवको यसै अवधिको तुलनामा कम खर्च भएको छ । गत भदौ मसान्तसम्ममा १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ चालू खर्च गरेको देखिन्छ । यो वार्षिक लक्ष्यको ९ दशमलव ६ प्रतिशत हो । गत वर्षको यसै अवधिमा ९ दशमलव ६७ प्रतिशत अर्थात १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख रुपैयाँ चालू खर्च भएको थियो ।
२०८३/८४ को लागि सरकारले चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आवको दुई महिनामा वित्त व्यवस्थापनतर्फ ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख छ ।
सरकारको आम्दानी साढे २ खर्ब
चालू आवको पहिलो दुई महिनामा सरकारको आम्दानी १ खर्ब ८३ अर्ब २० करोड ६६ लाख रुपैयाँ भएको छ । यो वार्षिक लक्ष्यको ११ दशमलव ५९ प्रतिशत हो, जुन गत वर्षको यसै अवधिको तुलनामा शून्य दशमलव ९५ प्रतिशत बिन्दुले कम हो । २०८२ को भदौ मसान्तसम्म १० दशमलव ६४ प्रतिशत अर्थात १ खर्ब ५७ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ आम्दानी भएको थियो ।
सरकारले यस वर्ष १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
यस्तै २ महिनामा कर राजस्वतर्फ १२ दशमलव २९ प्रतिशत अर्थात १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख र गैरकर राजस्वतर्फ ६ दशमलव ०९ प्रतिशत अर्थात १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ ।
सो अवधिमा वैदेशिक अनुदानतर्फ १ अर्ब ३७ करोड ६ लाख रुपैयाँ मात्र उठेको छ । यो वर्ष वैदेशिक अनुदानतर्फ सरकारको लक्ष्य ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेको छ ।