काठमाडौं, ४ असोज । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को साउनसम्ममा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या ३ करोड ३ लाख नाघेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउन मसान्तसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड ३ लाख १७ हजार ५७५ पुगेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ८ दशमलव ३२ प्रतिशतले बढी हो । गत आवको पहिलो महिना साउनसम्ममा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता २ करोड ७९ लाख ८८ हजार ७०८ थिए । अर्थात् एक वर्ष अवधिमै २३ लाख २८ हजार ८६७ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् ।
पछिल्लो महिना साउनमै २ लाख १७ हजार २० जना मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । गत वर्षको अन्तिम महिना असारसम्म्मा यस्ता प्रयागकर्ता ३ करोड १ लाख ५५५ हजार थिए ।
यस्तै चालू आवको साउनसम्ममा इन्टरनेट बैंकिङ सेवा २४ लाख ६२ हजार ६० प्रयोगकर्तामा पुगिसकेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ३८ प्रतिशतले धेरै हो । गत आवको साउनसम्ममा २२ लाख ५० हजार ७७२ प्रयोगकर्तामा इन्टरनेट बैंकिङको पहुँच पुगेको थियो ।
राष्ट्र बैंकका अनुसार गत आवको साउनसम्म्मा डेबिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ता १ करोड ३६ लाख ६१ हजार रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा १ करोड ३७ लाख ४८ हजार पुगेको छ ।
साउनसम्ममा क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या क्रमशः ३ लाख ३४ हजार ६५३ र २ लाख ८१ हजार ७४१ पुगेको छ । सो अवधिमा ५ हजार २८२ एटिएम रहेका छन् ।
हाल ५३ वटा बैंकिङ संस्था रहेका छन् । यी संस्थाका ६ हजार ३४३ वटा शाखा कार्यालय छन् । सो अवधिमा ६ करोड ३६ लाख ६६ हजार ४५२ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।