काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ । मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै साविककै आकार र रङमा नयाँ डिजाइनको नोट प्रचलनमा ल्याउन लागेको जनाएको हो ।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको संकेत नम्बर ट/२४ ०००००१ देखि ण/३० ९९९९९९ सम्म तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार यसअघि २०७७ असार २२ गते जारी सूचनाअनुसार ५० रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटमा ज/५९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका संकेत नम्बर चलनचल्तीमा ल्याउने भनिएको थियो । तर, सो सिरिजअन्तर्गत ज/५९ ०००००१ देखि ट/३३ ९००००० सम्मका नोट मात्र प्रचलनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोटमा नेपालको राष्ट्रिय पहिचान झल्काउने विभिन्न चित्र तथा सुरक्षा विशेषता राखिएका छन् । नोटको बायाँ भागमा सगरमाथाको चित्र र दायाँ भागमा लालीगुराँसको पानी छाप राखिएको छ । पानी छापको मुनि ५० अंकित छापसमेत रहेको छ ।
नोटको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ भने त्यसको माथि अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको तल्लो भागमा अंग्रेजीमा ‘रुपिज फिफ्टी’ तथा ‘२०२५ एडी’ को सिरिज उल्लेख गरिएको छ। तल्लो खण्डमै वि.सं. २०८२ लेखिएको छ ।
नोटमा १.२ मिलिमिटर चौडाइको कागजमा बुनिएको सुरक्षा धागो प्रयोग गरिएको छ । प्रकाशतर्फ फर्काएर हेर्दा उक्त धागो पूर्ण रूपमा देखिन्छ र त्यसमा अंग्रेजी अक्षरमा ‘ल्च्द्य’ लेखिएको हुन्छ ।
राष्ट्र बैंकले नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यसमेत उल्लेख गरेको जनाएको छ ।