काठमाडौं, ४ जेठ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि ६ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर अविजित रहे । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । इशान ६१ बलमा ५५ रन बनाएर आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । यस्तै, आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रन जोडे ।
बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले दुई तथा ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा अलआउट भएको थियो । स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । माइकल इंग्लिसले ५१ रन, जर्ज मुन्से २१, फिन्ले म्याकक्रेथ ६, कप्तान रिची बेरिङटन १२, माथ्यु क्रस १, मार्क वाट २०, माइकल लिस्क १, ओलीइ जोन्स २ र ओलीभर डेभिडसन कुनै पनि रन नजोडी आउट भए ।
बलिङमा नेपालका स्पिनर ललित राजवंशी घातक बने । ललितले स्कटल्याण्डविरुद्ध ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछाने १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।