काठमाडौं, २२ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको छ । नेपालले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३९.५ ओभरमा १ सय ७५ रन बनाउँदै अलआउट भयो ।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए । त्यस्तै, हमद मिर्जाले ३४ रन र ओपनर हसनैन उल वाहाबले २९ रन बनाए ।
नेपालका लागि गुल्सन झाले घातक बलिङ गर्दै ९ ओभर बलिङ गर्दै ५ विकेट लिए । सन्दीप लामिछाने, करन केसी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए । त्यस्तै, अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।
यस सिरिजमा नेपालले चार मध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ । २४ खेलबाट १८ अंक जोडेको नेपाल ८ टोली सहभागि लिग टु मा सातौं स्थानमै यथावत छ ।
यस सिरिजमा नेपालले यसअघि युएईलाई ३६ रन र ६ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनले पराजित भएको थियो ।
अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलिति लिग टु को अर्को शृंखला यही वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ ।