काठमाडौं, २० असार । यस साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहीबार नेप्से परिसुचक १५ दशमलव ४६ अङ्कले बढेर २१ सय १९ दशमलव ६९को विन्दुमा वन्द भएको छ ।
आज करिब साढे ६ अर्बको कारोबार भएको छ । आज २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर ८४ हजार १२६ पटक किनबेच हुँदा कुल ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रुपैयाँको कारोबार भएको छ ।
यस दिन ३१३ धितोपत्रको कारोबार हुँदा १४९ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९२ धितोपत्रको मूल्य घटेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
बिहीबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये फाइनान्स र उत्पादनमुलक समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक ३.४३ प्रतिशतले बढेको छ ।
फााइनान्स समूहको उपसूचक ०.५९ र उत्पादनमुलक समूहको उपसूचक ०.१५ प्रतिशतले घटेको छ ।
बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये आँखुखोला जलविद्युत कम्पनीको सकारात्मक सर्किट लागेको छ । त्यस्तै समाज लघुवित्तको ९.२३, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ७.३३, साङ्ग्रीला डिभलपमेन्ट बैंकको ६.४२ र एक्सेल डिभलपमेन्ट बैंकको ६.०१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतको शेयर मूल्य ९.३७ प्रतिशतले घटेको छ ।