घट्दो निक्षेप ब्याजदर र बढ्दो महँगी, ऋणात्मक वास्तविक ब्याजदरले निम्त्याउन सक्ने चुनौती (भिडियो रिपोर्ट)
अनलाइनसमय |
११ मंसिर २०८३
काठमाडौं, ११ मंसिर । नेपालका बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर लगातार घट्दै जाँदा र सोही अनुपातमा मुद्रास्फीति उकालो लाग्दा वास्तविक ब्याजदर ऋणात्मक बन्न पुगेको छ । पछिल्लो ६ महिनायता वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदरभन्दा मूल्यवृद्धि दर उच्च रहेको छ । यसले गर्दा बैंकका बचतकर्ताहरूको क्रयशक्ति कमजोर बन्दै गएको छ भने बचतको वास्तविक प्रतिफलसमेत गुमिरहेको छ । ब्याजदर घट्नु र मुद्रास्फीति बढ्नुमा विविध कारण जिम्मेवार रहेको बताइएको छ ।
मङ्सिर महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ३.९०६ प्रतिशतमा झरेको छ । कात्तिकमा यो ४.०१३ प्रतिशत रहेको थियो । २० वाणिज्य बैंकमध्ये ६ वटाले मङ्सिरमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ वटाले स्थिर राखेका छन् । यता मुद्रास्फीति भने गत असारको ५.१५ प्रतिशतबाट लगातार बढेर असोजमा ६.३७ प्रतिशत पुगेको छ ।
पछिल्लो ६ महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर निरन्तर ओरालो लागेको छ । गत असारमा ४.२६ प्रतिशत रहेको यस्तो ब्याजदर साउनमा ४.१७, भदौमा ४.१३६, असोजमा ४.०८९ हुँदै कात्तिकमा ४.०१३ र मङ्सिरमा ३.९०६ प्रतिशतमा सीमित भएको हो । एकातिर बैंकहरूको ब्याजदर निरन्तर घटिरहेको छ भने अर्कोतिर बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्य बढ्दो छ ।
बैंक तथा वित्तीय संस्थाले दिने निक्षेपको औसत ब्याजदरभन्दा मुद्रास्फीति दर माथि जाँदा वास्तविक ब्याजदर ऋणात्मक हुन पुग्छ । हाल मूल्यवृद्धि ६.३७ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ३.९०६ प्रतिशत रहेकाले वास्तविक ब्याजदर २.४६ प्रतिशत बिन्दुले ऋणात्मक बनेको छ । वास्तविक ब्याजदर लामो समय नकारात्मक रहेमा यसले वित्तीय क्षेत्रमा बहुआयामिक जोखिम निम्त्याउन सक्ने विश्लेषण गरिएको छ ।
ब्याजदर लगातार घट्दै जाँदा बैंकहरूमा रहेको कुल निक्षेपमा मुद्दतीको हिस्सा समेत घट्दै गएको छ । गतवर्षको असोज मसान्तसम्ममा बैंकहरूसँग रहेको कुल निक्षेपमध्ये मुद्दती निक्षेपको हिस्सा ४६.४ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा घटेर ३४ प्रतिशतमा खुम्चिएको छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरूको कर्जाको ब्याजदर घट्ने र लगानी प्रोत्साहित हुने अपेक्षा गरिए पनि निक्षेपकर्ता भने निरुत्साहित बन्दै गएका छन् ।
यस्तो छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :