काठमाडौं, ११ मंसिर । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिन म्याद थप भएको छ ।
शुक्रबार जिल्ला अदालत, काठमाडौंले अर्याललाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हा े। भारतको दिल्लीमा पक्राउ परेका अर्याललाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो ।
मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने कार्यमा संलग्न रहेको आरोप अर्यालमाथि छ । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा उक्त प्रकरणमा भूमिका खेलेको अनुसन्धानकर्ताहरूको दाबी छ ।
अनुसन्धानका क्रममा सम्झौताविपरीत सिण्डिकेट खडा गरी कामदारबाट रकम उठाइएको र उक्त रकम अमेरिकी डलर तथा पाउन्डमा रूपान्तरण गरेर मलेसिया पठाइएको खुलेको छ । अहिलेसम्मको अनुसन्धानबाट १७ पटक गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ अवैध रूपमा मलेसिया पु¥याइएको देखिएको छ ।