काठमाडौं, ११ मंसिर । भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले उनीहरूलाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको हो ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले ४८ जिल्लाबाट विवरण प्रमाणित भएका ३ हजार २९२ नेपाली र १९ विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा पहिचान भएका ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गरिएको छ ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ ।
यसअघि प्राधिकरणले नेपाली नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरेको थियो । विदेशी नागरिकका हकमा भने सम्बन्धित देशका नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएका नियोगबाट प्राप्त सूचीका आधारमा दाबी पेस गर्न दुई चरणमा सात दिने सूचना जारी गरिएको थियो ।
प्राधिकरणका अनुसार बाढीमा परी कुल ५ हजार २८५ जना बेपत्ता भएका थिए । तीमध्ये हालसम्म ३ हजार ९१५ जनाको विवरण मात्रै यकिन भएको छ । अझै १ हजार ३७० जनाको विवरण पुष्टि हुन बाँकी छ ।
बेपत्ताको विवरण पूर्ण रूपमा यकिन हुन नसक्दा प्रभावित परिवारले कानुनी रूपमा मृत्यु दर्ता गराउन तथा राहत र क्षतिपूर्ति प्राप्त गर्न समस्या भोग्दै आएका छन् ।
बाढीपछि संकलन गरिएका १ हजार १४८ वटा शवको पहिचान खुलाउन डीएनए नमुना संकलन गरी जमिनमुनि व्यवस्थापन गरिएको थियो । तर, ती शवको डीएनए परीक्षणबाट समेत पहिचान खुलाउने प्रक्रिया अझै टुंगिएको छैन ।
गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो ।