काठमाडौं, २५ भदौ । नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई हराउँदै फाइनमा स्थान बनाएको हो ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो ।
ओमानका लागि लागि जतिन्दर सिंहले २५ बनाए । जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको जितका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।
दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । त्यस्तै, बसिर अहमदले ४७ रन, ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् ।
बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए ।
नेपालले अब उपाधिका लागि शनिबार युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ । उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ ।