आफ्टर मार्केट अर्डर : नियमित कारोबार समयबाहेक पनि शेयर खरीद विक्रीको आदेश दिने अवसर (भिडियो रिपोर्ट)

अनलाइनसमय |
६ भदौ २०८३
आफ्टर मार्केट अर्डर : नियमित कारोबार समयबाहेक पनि शेयर खरीद विक्रीको आदेश दिने अवसर  (भिडियो रिपोर्ट)

काठमाडौं, ६ भदौ । नेपालको धितोपत्र दोस्रो बजारमा लगानीकर्ता लक्षित सेवा सुविधा थपिन थालेको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गत बिहीवारदेखि अनलाइन कारोबार प्रणाली (टिएमएस)मा ‘आफ्टर मार्केट अर्डर (एएमओ)को व्यवस्था गरेको छ । यससँगै नेप्सेको टिएमएस प्रयोग गर्ने लगानीकर्ताले बजार बन्द भएपछि पनि अर्को कारोबार दिनका लागि शेयर खरिद–बिक्रीको अर्डर राख्न सक्ने भएका छन् ।

नेप्सेले अहिले समग्र बजारका लागि एएमओको व्यवस्था गरे पनि निजी क्षेत्रको ब्रोकर कम्पनी नासा सेक्युरिटिज (ब्रोकर नं ५८)ले भने आफ्ना ग्राहकलाई यो सुविधा यसअघि नै उपलब्ध गराइसकेको छ । संस्थाले गत वैशाख १० गतेदेखि ‘नासा एक्स’ वेब प्लेटफर्ममार्फत एएमओको व्यवस्था गरेको थियो ।

एएमओको सबैभन्दा ठूलो लाभ नियमित कारोबार समयमा नभ्याउने लगानीकर्तालाई हुनेछ । विशेषगरी कार्यालयमा पूर्ण समय काम गर्ने पेशाकर्मी, व्यवसायी, विद्यार्थी वा अन्य व्यस्त व्यक्तिका लागि यो सुविधा उपयोगी हुन सक्छ ।

नासा सेक्युरिटिजले एएमओलाई ग्राहकको बदलिँदो आवश्यकता र डिजिटल कारोबारको विस्तारसँग जोडेको छ । कम्पनीका अनुसार फरक–फरक टाइम जोनमा रहेका विदेशस्थित नेपालीका लागि समेत यो व्यवस्थाले कारोबारका लागि विशेष टेवा पुग्नेछ ।

एएमओले नेपालको पूँजी बजारमा पहुँचको समस्या समेत केही हदसम्म घटाउन सक्छ । यो अवस्थामार्फत कारोबारको अर्डर दिने समय केही फराकिलो बनाउनु डिजिटल पहुँचका दृष्टिले सकारात्मक कदम हो ।

यसको मूल उद्देश्य नै समयको अभावकै कारण लगानीकर्ताले सम्भावित लगानीका अवसर गुमाउन नपरोस् भन्ने हो । साथै यो व्यवस्थाले बजार मूल्यमा हुन सक्ने म्यानिपुलेसनलाई पनि कम गर्ने अपेक्षा गरिएको छ ।

एएमओमा लगानीकर्ताले किन्न वा बेच्न चाहेको मूल्य पहिल्यै तोक्नुपर्छ । उपलब्ध व्यवस्थाअनुसार अघिल्लो दिनको अन्तिम मूल्यको १५ प्रतिशतसम्म माथि वा तल अर्डर राख्न सकिन्छ, जसमा अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको ३ प्रतिशत सीमाभित्रका उपयुक्त अर्डर प्रि–ओपन प्रक्रियामा स्वतः पठाइने व्यवस्था गरिएको छ । उक्त सीमाभन्दा बाहिरका अर्डर भने नियमित कारोबार समयमा खरिदकर्ता र विक्रीकर्ताको अर्डर म्याच भएपछि मात्र कारोबारको प्रक्रियामा जान्छन् ।

एएमओलाई केवल अर्डर संकलन प्रणालीका रूपमा मात्र राखिएको छैन । अर्डर राख्ने क्रममा खरिदकर्ताको खातामा आवश्यक कोल्याटरल रकम उपलब्ध छ÷छैन र विक्रीकर्ताको डिम्याट खातामा विक्री गर्न खोजिएको शेयर उपलब्ध छ÷छैन भन्ने पनि प्रणालीले जाँच गर्छ । खरिदकर्ताको खातामा पर्याप्त कोल्याटरल रकम नभएमा वा विक्रीकर्ताको डिम्याट खातामा आवश्यक शेयर नभएमा अर्डर अस्वीकृत हुन सक्छ ।

यस्तो छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस