अब सहकारीको बचतको पनि सुरक्षण हुने (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१६ असोज २०८३
काठमाडौं, १६ असोज । अब सहकारीमा राखिएको सर्वसाधारणको निक्षेपको पनि सुरक्षण हुने भएको छ । यसका लागि अर्थ मन्त्रालयले ‘निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३’ संशोधनको मस्यौदा तयार पारेको छ । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थामा जस्तै इजाजतप्राप्त सहकारी संस्थाहरूको निक्षेप पनि सुरक्षण हुनेछ । उक्त ऐन पारित भएमा सहकारी संस्था समस्याग्रस्त घोषणा हुनासाथ बचतकर्तालाई अग्रिम रूपमा निक्षेप भुक्तानी दिने बाटो खुल्नेछ ।
सहकारी संस्थाहरू निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्य बन्न कुल शेयर पुँजीको १ प्रतिशत एकमुष्ट रकम बुझाउनुपर्नेछ, जुन अन्य बैंक तथा वित्तीय संस्थाको भन्दा महँगो हो । यो प्रावधानले भने केही व्यावहारिक कठिनाइ ल्याउन सक्ने आकलन गरिएको छ ।
प्रस्तावित संशोधनअनुसार सुरक्षण कोषको पुँजी १० अर्ब हुनेछ भने सहकारीका लागि ‘सहकारी निक्षेप सुरक्षण कोष’ र ‘सहकारी कर्जा सुरक्षण कोष’ स्थापना गरिनेछ । साथै वित्तीय जोखिम समयमै पत्ता लगाउन नियामक निकायहरूबीच कसिलो समन्वयको व्यवस्था गरिएको छ ।
यता, सहकारी रजिष्ट्रारको कार्यालयले सहकारीको ऋणको ब्याजदरमा ठूलो परिवर्तन गरेको छ, जसअनुसार ऋणको अधिकतम सन्दर्भ ब्याजदर १३ प्रतिशत कायम गरिएको छ । यस्तै बचत र ऋणको ब्याजदर बीचको अन्तर ६ प्रतिशतभित्र राख्नुपर्नेछ भने प्रशासनिक, सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन पूर्ण रूपमा रोक लगाइएको छ ।
यसैगरी सहकारी क्षेत्रमा वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण निवारणका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ‘एएमएल÷सीएफटी’ मार्गदर्शन जारी गरेको छ । जसअनुसार अब सहकारीबाट एकैपटक ५ लाख वा सोभन्दा बढी नगद झिक्दा ठोस कारण खुलाउनुपर्नेछ । साथै, नयाँ सदस्यको सघन ग्राहक पहिचान, राजनीतिक रूपमा प्रभावशाली व्यक्तिको निगरानी र ५ वर्षसम्म अभिलेख सुरक्षित राख्नुपर्ने लगायत व्यवस्था गरिएको छ ।
निक्षेप सुरक्षण, ब्याजदर सीमा र सम्पत्ति शुद्धीकरण निवारणजस्ता एकीकृत सुधारका प्रयासले सहकारी क्षेत्रको अव्यवस्था अन्त्य गर्ने अपेक्षा गरिएको छ । यद्यपि, यी नियमहरूको प्रभावकारी कार्यान्वयन तथा अनुगमन प्रमुख चुनौती मानिएका छन् । निक्षेपकर्ताको बचत सुरक्षाका लागि बन्दै गरेका नयाँ कानून र मार्गदर्शनको सफल कार्यान्वयन हुन सके सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनः फर्किन सक्छ । यस्तो छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :