नेपालमा बन्ड मार्केट किन सुस्त ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२४ माघ २०८२
नेपालमा बन्ड मार्केट किन सुस्त ?  (भिडियो रिपोर्ट)

काठमाडौं, २४ माघ । मुलुकको वित्तीय प्रणालीलाई सबल, सुदृढ र समावेशी बनाउँदै समग्र आर्थिक समृद्धिमा योगदान बढाउने उद्देश्यले वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा ल्याइएको छ । आर्थिक वर्ष २०८२/८३ देखि ८६/८७ सम्म लागू हुने उक्त रणनीतिले दिगो र समावेशी आर्थिक विकासका लागि वैकल्पिक उपकरणका माध्यमबाट पूँजी जुटाउने विषयलाई समेत जोड दिएको छ । त्यसका लागि लिइएका कार्यनीतिमध्ये एक हो– बन्ड मार्केटको विकास । धितोपत्र बजारको एउटा प्रमुख हिस्साको रूपमा चिनिने बन्ड मार्केट नेपालमा प्रारम्भिक अवस्थामै छ ।

बन्ड मार्केट त्यस्तो बजार हो, जहाँ विभिन्न संस्थाहरू, जस्तै सरकार, बैंक तथा वित्तीय संस्था वा कम्पनीहरूले आफ्नो वित्तीय आवश्यकताका लागि पूँजी जुटाउन बन्ड जारी गर्छन् । बन्ड एक प्रकारको ऋणपत्र हो, जसलाई खरिद गर्ने लगानीकर्ताले प्रतिफलको रूपमा निश्चित ब्याज पाउँछन् । बन्ड विभिन्न किसिमका बन्डहरू हुन्छन्, जस्तै सरकारी बन्ड, स्थानीय तह बन्ड, संस्थागत बन्ड आदि । बन्डले लगानीकर्तालाई सुरक्षित र स्थिर प्रतिफल प्रदान गर्छ ।

दिगो विकास र आर्थिक समृद्धिको लक्ष्य लिएको नेपाललाई लगानीको ठूलो खाडल छ । यो अभावलाई पूरा गर्न बन्ड बजार महत्वपूर्ण माध्यम बन्न सक्छ ।

नेपालमा सरकारी ऋणपत्र बजारको तुलनामा कर्पोरेट बन्ड मार्केटमा केही विकास भए तापनि बैंक तथा वित्तीय संस्थाको ऋणपत्रमै सिमित देखिन्छ । साथै साक्षरताको कमी र प्राविधिक जटिलताले यसमा लगानीकर्ताको आकर्षण कम छ ।

पछिल्लो समय वित्तीय क्षेत्रमा ग्रीन ट्याक्सोनोमीको अवधारणा लागू हुँदैछ । सोहीअनुसार नेपालले पनि हरित बन्ड, सामाजिक बन्ड, स्थानीय तह बन्ड जस्ता वित्तीय उपकरण परिचालन गर्नुपर्ने विज्ञको सुझाव छ ।

नेपालमा ऋणपत्र बजारको विकास हुन नसक्नुमा पूर्वाधारदेखि कानूनी व्यवस्थाको अभाव पनि कारण रहेको अन्तरराष्ट्रिय वित्त निगमको अध्ययनले औंल्याएको छ । यो आवश्यकताालाई दृष्टिगत गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले बन्ड मार्केटका लागि छुट्टै नियमावली ल्याउने तयारी गरेको छ ।

हाल नेपालको बैंक तथा वित्तीय संस्थाबाट जारी भएर बजारमा कायम बन्ड तथा डिबेञ्चर ८२ ओटा छन्, जसमध्ये ७ ओटा बन्ड र ७५ ओटा डिबेञ्चर रहेका छन् । यस्तै सरकारले टे«जरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रका नाममा ऋणपत्र जारी गर्दै आएको छ ।

यस्तो छ बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस