काठमाडौं, २९ वेशाख । स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको थियो ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि तथा ९३ हजार ७५० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका श्रम स्वीकृति प्राप्त नेपालीका लागि छुट्याइएको थियो ।
यसैगरी, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता शेयर कर्मचारीका लागि बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको कुल मूल्य ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री छिटोमा जेठ १ गते र आवश्यक आवेदन नपरे ढिलोमा जेठ १२ गतेसम्म खुला रहनेछ ।