सम्झनामा वर्ष २०८२ : बलियो स्थायी सरकार, जगायो आशाको सञ्चार (भिडियो रिपोर्ट)
अनलाइनसमय |
४ वैशाख २०८३
काठमाडौं, ४ वैशाख । नेपाली राजनीति र अर्थतन्त्रमा नेपाली संवत् २०८२ साल एउटा ‘ब्रेक थ्रु’को वर्ष पनि बन्यो । भ्रष्टाचार अन्त्य, सुशासन र रोजगारीको माग गर्दै गत भदौमा उर्लिएको ‘जेनजी आन्दोलन’ले मुलुकको राजनीतिक लय नै बदलिदियो । सोही आन्दोलनको राप र तापको ६ महीनापछि सम्पन्न आम निर्वाचनबाट झन्डै दुई–तिहाई बहुमत सहितको नयाँ सरकार गठन भयो ।
प्रधानमन्त्रीमा बालेन्द्र शाह र अर्थ मन्त्रालयमा ख्यातिप्राप्त अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वले बजारमा नयाँ आशाको सञ्चार गरेको छ । युवा ऊर्जाले भरिएको संसद् र सरकार निजीक्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रूपमा स्वीकार्दै उदार अर्थनीतिमा अघि बढेको छ । नेतृत्वमा आएसँगै सरकारले मुलुकको अर्थतन्त्रको यथार्थ दर्शाउने ‘श्वेतपत्र’ जारी गर्ने तयारी गरिरहेको छ । यसै सन्दर्भमा बितेको वर्ष २०८२ आर्थिक तथा वित्तीय दृष्टिकोणले कस्तो रह्यो त ? एक समीक्षा,
बाह्य क्षेत्र : विदेशी मुद्राको ‘बफर’, सुदृढ शोधनान्तर स्थिति
वर्ष २०८२ मा नेपालको अर्थतन्त्रको बाह्य क्षेत्रले अभूतपूर्व मजबुतीको अवस्थामा रह्यो ।
सो अवधिमा देशमा भित्रिने र बाहिरिने कुल मुद्राको अन्तर अर्थात् शोधनान्तर स्थिति समीक्षा अवधिमा रू. ६ खर्ब ५८ अर्बले बचतमा छ । यस्तै चालु खाता ५ खर्ब ५२ अर्बले बचतमा छ । यसले देशको अन्तरराष्ट्रिय भुक्तानी क्षमता, वैदेशिक व्यापार र सेवाको क्षेत्रमा नेपाल लाभको स्थितिमा रहेको देखाउँछ । हाल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब नाघेको छ, जुन २१.४ महिनाको वस्तु र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
इन्फो
अबको चुनौती– यो सञ्चितिलाई उपयोग गरी आन्तरिक बजारमा आर्थिक गतिविधि र रोजगारी सृजना गर्नु हो । साथै पश्चिम एशियामा विकसित घटनाक्रमले बढ्दो मूल्यवृद्धि नियन्त्रणमा राख्नु पनि अर्को आवश्यकता हो ।
बैंकिङ क्षेत्र : पर्याप्त तरलता र लगानीको पर्खाइ
विगतका वर्षमा जस्तै वर्ष २०८२ मा बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि त्यसलाई परिचालन गर्न बैंकहरूले कडा चुनौतीको सामना गर्नुप¥यो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७७ खर्ब ४५ अर्ब पुगेको छ । यसले बजारमा पैसाको आप्रवाह र मानिसको औपचारिक बैंकिङ प्रणालीप्रतिको विश्वास बलियो रहेको संकेत गर्छ । सोही अवधिमा निजीक्षेत्रतर्फ प्रवाहित कर्जा ५७ खर्ब ४१ अर्ब पुगेको छ । घरजग्गा कारोबारमा आएको मन्दी र आन्तरिक उपभोगमा देखिएको शिथिलताका कारण उद्यमीहरूले नयाँ कर्जा लिन सकेनन् ।
नेपालमा हाल २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । बैंकहरूको कुल शाखा संख्या ११ हजार ४६५ रहेको छ । यस्तै निक्षेप खाताको संख्या ६ करोड २० लाख ६० हजार पुगेको छ भने कर्जा खाताको संख्या २० लाख ४० हजार रहेको छ ।
इन्फो
डिजिटल बैंकिङ छलाङ मारेको नेपालमा मासिक क्यूआरबाटै मासिक १ खर्ब २५ अर्बसम्मको कारोबार हुने अवस्था बनेको छ ।
बीमा क्षेत्र : पहुँचमा ऐतिहासिक छलाङ
समीक्षा अवधिमा नेपाली बीमा बजारको पहुँच र दायरा ऐतिहासिक रूपमा बढेको छ । यस वर्ष म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख जनसंख्याको ४९.९२ प्रतिशतमा पुग्यो, जुन नेपाली बीमा इतिहासकै उच्च पहुँच हो । सो अवधिमा म्यादी र वैदेशिक रोजगार जस्ता अनिवार्य बीमा बाहेकका जीवन बीमा गर्ने जनसंख्या १८.१६ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या १ करोड ६२ लाख १५ हजार नाघेको छ । यो अघिल्लो वर्षको तुलनामा १४.५७ प्रतिशतले बढी हो । बीमा गर्नेहरूको संख्यामा भएको दोहोरो अंकको वृद्धिले यो बीमाको सहज पहुँच र समावेशितालाई संकेत गरेको छ । हाल नेपाली बजारमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्, जसमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, २ पुनर्बीमा र सात लघुबीमा कम्पनी छन् ।
इन्फो
पछिल्लो समय लघुबीमा कम्पनीहरूले न्यून आय भएका र ग्रामीण भेगका नागरिकलाई बीमाको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
धितोपत्र बजार : २८०० को विन्दु पार, ‘डिम्याट’ क्रान्ति
समीक्षा अवधिमा धितोपत्र बजारले आफ्नो ओरालो यात्रामा पूर्णविराम लगाउँदै सकारात्मक दिशा समातेको छ । विशेषगरी प्रविधिमा आधारित कारोबार र आम लगानीकर्ताको व्यापक सहभागिताले बजारलाई चलायमान बन्न टेवा पुगेको छ ।
२०८१ चैत मसान्तमा २ हजार ७३६ रहेको नेप्से सूचकांक २०८२ चैत अन्त्यमा २ हजार ८३३ कायम भएको छ । यसैगरी धितोपत्र बजार पूँजीकरण रू. ४८ खर्ब ३२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ४५ खर्ब ४३ अर्ब थियो । कुल गार्हस्थ्य उत्पादनसँग बजार पूँजीकरणको अनुपात ७९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको संख्या २८६ पुगेको छ ।
इन्फो
वर्ष २०८२ मा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेर ७६ लाख ५५ हजार पुगेको छ, जुन नेपालको जनसंख्याको करिब एक चौथाइ हो । यस्तै मेरो शेयर प्रयोगकर्ता ६७ लाख ३० हजार छन् भने ४८ लाख ६६ हजार प्रयोगकर्ताले सक्रिय रूपमा यसको प्रयोग गरिरहेका छन् ।
समग्रमा वर्ष २०८२ ले नयाँ सरकारलाई राजनीतिक स्थिरता, बैंकिङ प्रणालीमा पर्याप्त तरलता र ऐतिहासिक स्तरमा विदेशी मुद्राको ‘सुरक्षा कवच’ उपहार दिएको छ । सत्तारूढ दल रास्वपाको चुनावी वाचापत्र र सरकारको ‘सयदिने कार्यसूची’को कार्यान्वयनले सरकारको आर्थिक मार्गचित्रलाई थप प्रस्ट बनाउन सक्छ । निजीक्षेत्रलाई विश्वासमा लिने, लगानीको वातावरण सुधार्ने, पूँजीगत खर्च वृद्धि तथा बजेटको अधिकतम कार्यान्वयन र सहकारीको समस्या समाधान गर्ने हो भने वर्ष २०८३ नेपाली अर्थतन्त्रको पुनरुत्थानको वर्ष सावित हुन सक्छ । कर्मचारी प्रशासनको सक्रियता, प्रतिपक्षी दलहरूको रचनात्मक सहयोग र निजीक्षेत्रको समेत सहकार्य भए वर्ष २०८३ ले ‘सुशासन र समृद्धिको’ आधार तय गर्नेछ । बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :