काठमाडौं, १८ वैशाख । हामीमध्ये धेरैले आफ्ना साथीभाइ वा आफन्तलाई आवश्यक पर्दा ऋण दिएर सहयोग गर्छौं । प्रायः उनीहरूको आम्दानी, सम्पत्ति वा क्षमताको आधारमा ‘पछि तिर्छन्’ भन्ने विश्वासमा यस्तो लेनदेन गरिन्छ । तर, एउटै सम्पत्ति देखाएर धेरै ठाउँबाट ऋण लिइएको छ भने रकम नउठ्ने जोखिम पनि उत्तिकै हुन्छ । यस्तै जोखिम कम गर्न र ऋण कारोबारलाई सुरक्षित बनाउन सरकारले २०६३ सालमै ‘सुरक्षित कारोबार ऐन’ ल्याएको थियो । सोही ऐनअनुसार ‘सुरक्षित कारोबार दर्ता कार्यालय’ले चल सम्पत्ति धितोमा हुने कारोबारको दर्ता प्रणाली सञ्चालन गर्दै आएको छ ।
सुरक्षित कारोबार ऐनअनुसार चल सम्पत्तिको धितोमा हुने कारोबारलाई दर्ता गर्नुपर्छ । ‘एसटीआरओ डट ओआरजी डट एनपी’मा यो दर्ता गर्न सकिन्छ । यसमा दर्ता गर्नुभयो तपाईंले दिनुभएको कर्जा तथा धितोले कानुनी मान्यता पाउँछ, जसले गर्दा असुली प्रक्रिया सरल हुन्छ । साथै चल सम्पत्ति धितोमा कुनै पनि कर्जा दिनुअघि त्यसबापत पहिले नै कर्जा लिइएको छ÷छैन भन्ने यकिन गर्नुपर्छ । यसो गर्नाले दोहोरो कर्जाको मारमा परिँदैन ।
सुरक्षित कारोबार दर्ताको उद्देश्य ऋणदाताको अधिकार सुरक्षित गर्नु र ऋणी तथा ऋणदाताबीच हुने वित्तीय कारोबारलाई विश्वसनीय बनाउनु हो । यसका लागि ‘सुरक्षित कारोबार दर्ता कार्यालयमा दर्ता’मा दर्ता भएर संस्थागत रूपमा यस्तो कारोबार हुने गरे पनि यसको दायरा अपेक्षित रूपमा बढ्न सकेको छैन ।
चल सम्पत्तिअन्तर्गत सवारीसाधन, व्यावसायिक सामग्री, पशुपन्छी तथा गाइवस्तु, ब्रान्ड वा करार अधिकारसमेत धितोका रूपमा राख्न सकिन्छ । यस्तो धितोमा एकभन्दा बढी कर्जा कारोबार पनि हुन सक्छ । तर कर्जा असुलीमा समस्या वा विवाद हुँदा भने उक्त धितोमा ‘पहिले दर्ता गर्नेको पहिलो दाबी’ लाग्छ, अर्थात् एउटै सम्पत्तिमा धेरैले कर्जा दिएका भए पनि दर्ता क्रमअनुसार प्राथमिकता तय हुन्छ ।
सुरक्षित कारोबार दर्ता प्रणालीको अर्को मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्थाको अचल सम्पत्तिमा निहित धितोको निर्भरता घटाउनु हो । तर व्यवहारमा भने बैंकहरूको करीब दुई तिहाई कर्जा घरजग्गा धितोमै प्रवाहित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ फागुन मसान्तसम्म कुल कर्जामध्ये करिब १५ प्रतिशत मात्र चल सम्पत्तिको सुरक्षणमा आधारित छ भने ६३.८ प्रतिशत कर्जा घरजग्गा धितोमा छ ।
सुरक्षित कारोबार दर्ताबारे जनस्तरमा जानकारीको अभाव ठूलो चुनौतीका रूपमा देखिएको छ । कानूनी आधार तयार भइसकेको र प्रणाली सञ्चालनमा आइसकेको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि र बैंक तथा वित्तीय संस्थाको सक्रियता नै यसको सफलताको मुख्य आधार बन्न सक्छ ।
सुरक्षित कारोबार दर्ता कार्यालयका अनुसार गत आर्थिक वर्षमा चल सम्पत्ति धितोमा संस्थागत रूपमा ६२ हजार २४६ ओटा कारोबार दर्ता भएका थिए । चालू आर्थिक वर्षको चैत मसान्तसम्मा यस्तो दर्ता ५० हजार १५५ ओटा पुगेका छन् ।
बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :