काठमाडौं, १७ वैशाख । अफगानिस्तानको उत्तरपूर्वी दुर्गम बदखसन प्रान्तमा सुन खानीमा विस्पोट हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूले शहरी बुजुर्ग जिल्लाको अवेज क्षेत्रमा सुन खोज्ने क्रममा उक्त घटना भएको बताएका छन् । प्रान्तीय विपद् व्यवस्थापन निर्देशक मौलवी मोहम्मद अकरम अकबरीका अनुसार हालसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ भने अन्य सम्भावित पीडितको खोजी जारी छ ।
पहाडी र दुर्गम मानिने बदखसन खनिज स्रोतले धनी भए पनि असुरक्षित र अव्यवस्थित खानी उत्खननका कारण जोखिमपूर्ण छ ।
अफगानिस्तानको गरिबीग्रस्त खानी क्षेत्रमा यस्ता दुर्घटनाहरू पटक पटक हुनेगरेको पाइन्छ । जहाँ आधुनिक उपकरण र सुरक्षाको मापदण्डको अभावमा परम्परागत र अव्यवस्थित अभ्यासले ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बताइएको छ ।