काठमाडौं, ११ असोज । चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर पुगेको छ । यो खतराको विन्दु ९ मिटरभन्दा १ मिटरभन्दा बढी हो । नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ ।
भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ । नदीको बहावले खतराको तह पार गरेकोले त्यस क्षेत्रमा डुबानको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै, चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको तह मानिन्छ । जलसतह केही घटे पनि अहिले पनि खतराको सीमाभन्दा माथि नै रहेको छ ।
नारायणी नदी र रिउ खोलामा पानीको बहाव उच्च रहेकाले नदी तथा खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।