काठमाडौं, ९ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को चार महिनामा नेपालले ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३१ दशमलव ७७ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्ममा ६ खर्ब ९ अर्ब ४५ करोडको व्यापार भएको थियो ।
त्यस्तै, चालू आवको चार महिनामा नेपालबाट १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८२/८३ को तुलनामा ४३.४८ प्रतिशतले बढी हो ।
नेपालले चालू आवको कात्तिक मसान्तसम्ममा ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत आवको चार महिनामा नेपालले ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँको व्यापार गरेको थियो । अर्थात् यो वर्ष नेपालको वैदेशिक व्यापार ३३ दशमलव ३३ प्रतिशतले बढेको छ ।
चालू आवको कात्तिकसम्म साढे ६ खर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन गत आवको कात्तिकसम्मको तुलनामा २९ दशमलव ६५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपाल वैदेशिक व्यापारमा ५ खर्ब १५ अर्बले घाटामा थियो ।