काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको सांगठनिक गतिविधि र आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको हो ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको अध्यक्षतामा मंगलबारदेखि सुरु भएको बैठकमा आज महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको कार्यसूचीमाथि छलफल हुनेछ ।
मंगलबारको बैठकमा सभापति थापाले पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा प्रस्तुत गरेका थिए भने महामन्त्री पौडेलले छलफलका लागि प्रस्तावित कार्यसूची पेस गरेका थिए ।
आजको बैठकमा संगठनको आगामी जिम्मेवारी, ‘हामी तयार छौँ’ अभियान, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण र विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःनिर्माण, नागरिकका सरोकार, सरकारका पछिल्ला गतिविधि तथा आगामी स्थानीय तह निर्वाचनको तयारी पनि बैठकका प्रमुख एजेन्डा रहेका छन् ।