विद्युत् प्रधिकरणलाई सात दिनभित्र डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणालीका कागजात बुझाउन निर्देशन

अनलाइनसमय |
८ मंसिर २०८३
विद्युत् प्रधिकरणलाई सात दिनभित्र डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणालीका कागजात बुझाउन निर्देशन

काठमाडौं, ८ मंसिर । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्रधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी कागजात सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी विषयमा उजुरी परेपछि समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले त्यससँग सम्बन्धित कागजात सात दिनभित्र समितिमा पेस गर्न निर्देशन दिए ।

लोकतन्त्रको मूल्य, मान्यता विधि, प्रणाली, पद्धति र प्रक्रिया भएको उल्लेख गर्दै उनले त्यसअनुसार काम भए नभएको अध्ययनका लागि कागजात पेस गर्न प्राधिकरणलाई निर्देशन दिएको बताए ।

आवश्यक कागजातको अध्ययनपछि समितिले आफ्नो कार्य क्षेत्रका आधारमा काम गर्ने जानकारी दिँदै सभापति खड्काले समिति अख्तियार वा अदालत नभएकाले कार्य क्षेत्रभित्रै रहेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

बैठकमा सांसद मनिष झा र रुकेश रञ्जितलगायतले प्राधिकरणले विभिन्न काममा पटकपटक एउटै कम्पनीलाई ठेक्का दिइएको, डिजिटल डेटा सुरक्षाको सुनिश्चितता नरहेको, विस्थापित हुन लागेको प्रविधि नेपालमा भित्र्याउन खोजिएको हो कि भन्ने प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस