हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १८ देखि खुल्ने

अनलाइनसमय |
९ मंसिर २०८३
हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १८ देखि खुल्ने

काठमाडौं, ९ मंसिर । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आगामी मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ खुलाउन लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, सामूहिक लगानी कोषका लागि २ लाख ११ हजार २५० कित्ता शेयर निष्काशन गरिसकेको कम्पनीले कर्मचारीका लागि १ लाख २६ हजार ७५० कित्ता शेयर सुरक्षित राखेको छ । अब कम्पनीले सर्वसाधारणका लागि ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको ३४ लाख ६४ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । प्रतिकित्ता शेयरको अंकित मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ ।

आईपीओमा लगानी गर्न इच्छुक सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । शेयरमा आवेदन दिने अवधि छिटोमा मंसिर २३ गतेसम्म र ढिलोमा पुस ३ गतेसम्म रहने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस