काठमाडौं, ९ मंसिर । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूले एउटै परिसरभित्र अन्य कुनै पनि स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणा पत्र बुझाउनुपर्ने भएको छ ।
उपकुलपतिको कार्यालयले बुधबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै मंसिर १५ गतेभित्र अनिवार्य रूपमा यस्तो स्वघोषणा पेस गर्न क्याम्पस तथा कलेजहरूलाई निर्देशन दिएको हो ।
सूचनाअनुसार कार्यक्रम, विषय, सेक्सन तथा कोटा थप गर्नका लागि सूचीकृत भएका क्याम्पस तथा कलेजहरूले उक्त पत्र बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
त्रिवि कार्यकारी परिषद्को २०८३ कात्तिक २१ गतेको निर्णयबमोजिम सम्बन्धित संस्थाले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा त्रिविबाहेक अन्य कुनै स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रम सञ्चालन नगरेको व्यहोरा खुलाउनुपर्नेछ ।
त्रिवि सम्बन्धनसम्बन्धी विनियम, २०७३ (संशोधनसहित) को परिच्छेद १३ मा त्रिविबाहेक अन्य विश्वविद्यालय वा परीक्षा बोर्ड तथा परिषद्सँग सम्बन्धन लिई शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था रहेको छ ।
