काठमाडौं, १५ असो । गत भदौ र असोजमा नेपालले निरन्तर प्राकृतिक विपद् सामना गर्नुपरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले पुल तथा पर्यटकीय पूर्वाधार क्षेत्रमा गम्भीर क्षति पुग्यो । यसको एक महिना नपुग्दै यही ७ गतेदेखि चार दिनसम्मको भारी वर्षाले देशका प्रमुख राजमार्ग तथा पर्यटन क्षेत्रमा थप क्षति पुग्यो । यसो हुँदाहुँदै पर्यटक आगमनमा भने सुधार देखिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२६ मा ८८ हजार २ सय ४८ पर्यटक नेपाल घुम्न आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२.१ प्रतिशत धेरै हो । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटकको मात्रै आगमन भएको थियो ।
यो महिना क्षेत्रगत हेर्दा दक्षिण एसियाली देशबाट आगमनमा २३.९ प्रतिशतको सुधार देखिएको छ । अघिल्लो वर्ष यस क्षेत्रबाट २४ हजार २ सय ८५ पर्यटक आएकोमा यस वर्ष ३० हजार ८५ आएका छन् ।
तथ्यांक अनुसार सार्कसहित एसियाली देशबाट आगमनमा सुधार भएको छ भने अमेरिकी र युरोपेली पर्यटक आगमन भने घटेको छ ।
एसियाका अन्य देशबाट यस वर्षको सेप्टेम्बरमा १९ हजार ८ सय ८८ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशतले सुधार हो । २०२५ को सोही महिनामा १२ हजार ५ सय ९० पर्यटक नेपाल आएका थिए ।
आसियान क्षेत्रबाट भने आगमन २५.९ प्रतिशत खस्किएको छ । यस भेगबाट ५ हजार ४ सय २२ पर्यटक मात्र यो महिना नेपाल अएका छन् । यस्तै युरोपबाट समेत आगमन ८.७ प्रतिशलेत घटेको छ । युरोपबाट गत वर्ष १६ हजार ५ सय ९७ पर्यटक आएकोमा अहिले १५ हजार १ सय ४८ नेपाल आएका छन् ।
अमेरिकी पर्यटक आगमनमा समेत असर परेको देखिन्छ । सेप्टेम्बरमा अमेरिकी देशबाट १० हजार १ सय ७ पर्यटक नेपाल आएका छन् । गत वर्ष यसै महिनामा यस क्षेत्रबाट ११ हजार ५२३ आएका थिए ।
नेपाल भित्रिने देशगत पर्यटक आगमनको अवस्था हेर्दा छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । सेप्टेम्बरमा त्यहाँबाट हवाई मार्ग हुँदै १७ हजार ४२५ जना पर्यटक नेपाल आएका छन् । भारतबाट आउने पर्यटकमा १९.७५ प्रतिशतले सुधार आएको छ ।
त्यस्तै चीनबाट यस वर्षको सेप्टेम्बरमा आएको पर्यटक आगमन दोब्बरले बढेको छ । गत वर्षको ५ हजार २ सय ३७ चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्ष ११ हजार २ सय १२ पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ११४.१ प्रतिशत बढी हो ।
त्यस्तै, अमेरिकाबाट ८ हजार २९९ जना, श्रीलंकाबाट ७ हजार १०८, अस्ट्रेलियाबाट ४ हजार ८४२, बंगलादेशबाट ३ हजार ९६४, बेलायतबाट ३ हजार ७२५, जापानबाट २ हजार ६६, जर्मनीबाट १ हजार ९७४ र इजरायलबाट १ हजार ९५७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्
