काठमाडौं, ९ मंसिर । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोइका अल्मुनाई एसोसिएसन अफ नेपाल (कान) ले गल्छी गाउँपालिका मार्फत धादिङस्थित बैरेनी अस्पताल र आयुर्वेद अस्पताललाई ९ हजार ९०० अमेरिकी डलर बराबरको सूचना प्रविधि (आईटी) उपकरण तथा कार्यालय फर्निचर सहयोग स्वरूप प्रदान गरेका छन् ।
समारोह यही मंसिर ३ गते गल्छी गाउँपालिकाको कार्यालय परिसरमा कोइका, कान, गल्छी गाउँपालिका, बैरेनी अस्पतालका प्रतिनिधिहरू तथा पालिकाका कर्मचारीहरूको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो । यस सहयोगसम्बन्धी सम्झौतामा मंसिर २ गते कोइका नेपालको कार्यालयमा हस्ताक्षर गरिएको थियो ।
गत भदौ १० गते भोटेकोशी नदीबाट उत्पन्न भई त्रिशूली नदी तटीय क्षेत्रहरूमा समेत प्रभाव पारेको आकस्मिक बाढीका कारण अस्पतालका भौतिक संरचना र उपकरणहरूमा क्षति पुगेको थियो । सोही बाढीपछि अस्पतालको प्रशासनिक कार्य सञ्चालन तथा सेवा प्रवाह क्षमतालाई पुनःस्थापित गर्न सघाउने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो ।
गल्छी गाउँपालिका अन्तर्गत सञ्चालित बैरेनी अस्पताल र आयुर्वेद अस्पताल दुवैले गाउँपालिका तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । अस्पतालहरूको प्रशासनिक क्षमता अभिवृद्धि गर्न तथा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर र प्रभावकारिता सुधार गर्न कोइका–कानले यी अस्पतालहरूलाई ५ थान डेस्कटप कम्प्युटर, ५ थान प्रिन्टर, १ थान ल्यापटप, ५ थान अफिस टेबल र ५ थान अफिस कुर्सी उपलब्ध गराएको छ ।

त्यसैगरी, कार्यसञ्चालन क्षमता र सेवा प्रवाहलाई थप सुदृढ बनाउन गल्छी गाउँपालिकालाई समेत २ थान डेस्कटप कम्प्युटर, २ थान प्रिन्टर, २ थान अफिस टेबल र १ थान ल्यापटप प्रदान गरिएको छ । उपलब्ध गराइएका सामग्रीहरू पालिकाका स्वास्थ्य कार्यक्रमहरूलाई सघाउन प्रयोग गरिनेछ भने आवश्यकता अनुसार स्थानीय स्वास्थ्य संस्थाहरूमा समेत वितरण गरिनेछ ।
समारोहमा बोल्दै गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले कोइका र कानले पुर्याएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । उनले बाढीले बैरेनी अस्पताल र आयुर्वेद अस्पतालको शाखामा पु¥याएको गम्भीर क्षतिको चर्चा गर्दै सीमित स्रोतसाधन र उपकरणका बाबजुद दुवै संस्थाले आफ्ना सेवा पुनः सुचारु गरेको उल्लेख गरे । उनले कोइका–कानको समयसापेक्ष सहयोगको प्रशंसा गर्दै स्थानीय स्वास्थ्य सेवालाई सुदृढ बनाउन आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे ।
त्यसैगरी, गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले अस्पतालको प्रशासनिक कार्य पुनःस्थापना गर्न उपलब्ध गराइएका उपकरण तथा फर्निचरको व्यावहारिक महत्त्वमाथि प्रकाश पारे । बाढीले अस्पतालको पहिलो तल्लामा रहेका विद्युतीय तथा चिकित्सा उपकरणहरूमा क्षति पुर्याएकाले प्रशासनिक अभिलेख र मेडिकल रिपोर्टहरू व्यवस्थित गर्न कठिनाइ भइरहेको उनले बताए । ती चुनौतीहरूलाई सम्बोधन गर्न पु¥याएको योगदानका लागि उनले कोइका र कानप्रति कृतज्ञता व्यक्त गरे ।
कानको तर्फबाट नवराज गौतमले स्थापनाकालदेखि नै अल्मुनाई एसोसिएसनले अस्पताल सहयोग तथा विभिन्न सामाजिक गतिविधिहरूमार्फत नेपाली समुदायमा पुर्याउँदै आएको योगदानबारे प्रकाश पारे । आकस्मिक बाढीले धादिङ, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको उनले उल्लेख गरे । विपद्पछिको तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै प्रभावित सबै क्षेत्रमा सहयोग विस्तार गर्न नसके तापनि कोइका–कानले बैरेनी अस्पताललाई सहयोग गर्ने निर्णय गरेको उनले बताए । यस सहयोगले गाउँपालिका तथा छिमेकी क्षेत्रका बासिन्दाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर प्रदान गर्न अस्पताललाई मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

कोइकाले कानमार्फत यसअघि पनि नेपालका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरूलाई अत्यावश्यक चिकित्सा उपकरण र कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएर सहयोग गर्दै आएको छ ।
कान कोइका फेलोसिप कार्यक्रमका पूर्वसहभागीहरू (अल्मुनाई) द्वारा गठित एक स्वयंसेवी संस्था हो । कोइकाले प्रत्येक वर्ष करिब ८० देखि १०० जना सरकारी कर्मचारीहरूलाई छोटो तथा लामो अवधिको फेलोसिप वा छात्रवृत्ति कार्यक्रमका लागि कोरिया पठाउने गर्दछ । कार्यक्रम पूरा गरेपछि ती सहभागीहरू कानमा आबद्ध भई वर्षभरि विभिन्न स्वयंसेवी तथा ज्ञान आदानप्रदानका गतिविधिहरूमा सहभागी हुन्छन् । कोइकाले काठमाडौं उपत्यकाभित्र तथा बाहिर आयोजना हुने सेमिनार, कार्यशाला र सहयोग हस्तान्तरण जस्ता विभिन्न कार्यक्रमहरूमा सघाएर कानलाई निरन्तर सहयोग गर्दै आएको छ ।